​​​​​​​म निर्वाचित भएँ भने जनताले आफ्नै परिवारको सदस्य ठान्ने गरी राष्ट्रपतिको सवारी हुनेछ : नेम्वाङ

​​​​​​​म निर्वाचित भएँ भने जनताले आफ्नै परिवारको सदस्य ठान्ने गरी राष्ट्रपतिको सवारी हुनेछ : नेम्वाङ

काठमाडौं : एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास चन्द्र नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताले परिवारको सदस्य आए जस्तो महसुस गर्ने गरी राष्ट्रपतिको सवारी हुने बताएका छन्।

बिहीबार संसद भवनमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहित छु। विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ। नयाँ व्यवस्था अनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ। त्यसैले म सफल रुपमा राष्ट्रपति भएपछि जनताको राष्ट्रपतिको रुपमा काम गर्नेछु।’

उनले राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा सवारीमा निस्किँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभूति दिलाउने बताए। 

‘जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महसुस हुने सवारी हुनेछ। म सबै दल र सारा नेपालीहरूको साझा उम्मेदवार भएर राष्ट्रपतिको उम्मेदवार बनेको छु,’ उनले भने।

साथै उनले देश र जनताको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने पनि उल्लेख गरे।

फागुन २५, २०७९ बिहीबार १४:४४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।