द्वन्द्वकालीन मुद्दालाई लिएर देशलाई अशान्तितिर लैजाने काम स्वीकार्य हुँदैन : मन्त्री मोदी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले कमजोरीका छिद्र खोजेर वृहत् शान्ति सम्झौताको मुल प्रक्रियालाई बिथोल्न नपाइने बताएका छन्।
सगरमाथा प्रतिष्ठान नेपालको २२ औं स्थापना दिवस तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले केही पात्रहरूले देशलाई अशान्तितिर लैजान खोजेको बताए।
मन्त्री मोदीले भने, ‘द्वन्द्वकालीन मुद्दालाई लिएर मान्छेहरूले अशान्ति फैलाउन खोजेका छन्। देशलाई अशान्तितिर लैजाने काम कसैले गर्छ भने त्यो स्वीकार्य हुँदैन।’
उनले ‘जनयुद्ध’कै देनका कारण मुलुकले महिला राष्ट्रपति र प्रधानन्यायाधीश पाएको विषयलाई बिर्सन नहुने बताए।
‘कुनै बेला महिलाहरूलाई चुल्हो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने एउटा सोच थियो,’ उनले भने, ‘महिला दिदीबहिनीहरुलाई गाउँदेखि केन्द्रसम्म, ३३ प्रतिशतसम्म प्रतिनिधित्व गराउने भूमिका अहिलेको प्रधानमन्त्रीज्युले नै खेल्नुभएको हो, मुलुकले महिला प्रधानन्यायाधीश र राष्ट्रपति पाएको पनि अहिलेको प्रधानमन्त्रीज्युकै नेतृत्वमा भएको ‘जनयुद्ध’को कारणले सम्भव भएको हो।’
पशुलाई घरभित्र पस्न दिइने तर दलित भएकै कारण घर बाहिर राख्ने प्रचलनको अन्त्य पनि ‘जनयुद्ध’बाटै सम्भव भएको मन्त्री मोदीको भनाई थियो।
‘हरेक वर्ग, समुदाय, जात जाति, लिंगले न्याय पाउनुपर्छ भनेर हामीले आवाज उठाएका हौं। हामी शान्ति प्रक्रियामा आइसकेका छौं, देश शान्ति प्रक्रियामा आइसकेको छ,’ मन्त्री मोदीले भने, ‘कमजोरीका छिद्रहरु खोजेर शान्ति प्रक्रियालाई बिथोल्न खोजिरहेका छन्। त्यस्तो काममा नलाग्नका लागि म विशेष रुपमा आग्रह गर्न चाहन्छु।’
फागुन २४, २०७९ बुधबार १८:४८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।