भोलि साँझ ७ बजेसम्ममा राष्ट्रपति निर्वाचनको नतिजा आउने, मतदान केन्द्रमा मोबाइल निषेध

भोलि साँझ ७ बजेसम्ममा राष्ट्रपति निर्वाचनको नतिजा आउने, मतदान केन्द्रमा मोबाइल निषेध

काठमाडौं : निर्वाचन आयोगले भोलि (बिहीबार) बानेश्वरस्थित संसद भवन परिसरमा हुने राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार राष्ट्रपति चयनका लागि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

साथै भोलि बेलुका ७ बजेसम्ममा निर्वाचनको परिणाम पनि आइसक्ने उनले बताए। ३ बजेसम्म मतदान सकेर ४ बजेदेखि मतगणना गर्ने तयारी आयोगले गरेको छ।

आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दिएका छन् भने गठबन्धन बाहिर रहेको एमालेले सुवास चन्द्र नेम्वाङलाई अघि सारेको छ।

यस निर्वाचनमा संघीय संसद्का सदस्यहरू र प्रदेशसभाका सदस्यहरूले मतदान गर्ने छन्।

जसका लागि संघीय सांसदहरूका लागि एक र प्रदेशसभा सदस्यहरूका लागि एक गरी दुई वटा मतदान केन्द्र बनाएको छ। 

सुरक्षाका कारण यी मतदाताहरूलाई मतदान केन्द्रमा मोबाइल लान निषेध गरिएको पनि पौडेलले बताए।

उनले भने, ‘मतदान केन्द्रमा सुरक्षाकर्मीहरूले आवश्यक जाँच गर्नेछन्, गोप्य मतदान भएका कारण मतदान केन्द्रमा  मोबाइल लगायत कानुनले निषेध गरेका कुरा लैजान मिल्ने छैन।’ 

फागुन २४, २०७९ बुधबार १५:३६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।