निर्णायक घरेलु सिरिज : एकदिवसीय मान्यता जोगाउन र सोझै विश्वकप छन‍ौट खेल्न नेपाललाई कति सहज?

निर्णायक घरेलु सिरिज : एकदिवसीय मान्यता जोगाउन र सोझै विश्वकप छन‍ौट खेल्न नेपाललाई कति सहज?

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमसँग अहिले दुई वटा प्रमुख लक्ष्य छ। सोझै एकदिवसीय विश्वकप छनोटमा पुग्ने र हाल भएको आईसीसीको एकदिवसीय मान्यतालाई कायमै राख्ने।

नेपालको यी दुवै योजनाको टुंगो यसै सातादेखि नेपालमा सुरु हुने आईसीसी विश्वकप लिग-२ को अन्तिम सिरिजले लाग्नेछ।

सात टिम सहभागी आईसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहीबारदेखि टीयू खेल मैदान कीर्तिपुरमा आयोजना हुँदैछ। यस सिरिजमा नेपाल, यूएई र पीएनजीले प्रतिस्पर्धा गर्दैछन्।

यो घरेलु सिरिज नेपाली क्रिकेटको आगामी दिनको खाका कोर्नका लागि निर्णायक सिरिज हो।

सोझै एकदिवसीय विश्वकप छनोट खेल्न चारै खेल जित्नुपर्ने दबाब

आईसीसी एकदिवसीय विश्वकप यसै वर्ष भारतमा आयोजना हुँदैछ। १० टिमको सहभागिता रहने विश्वकपमा छनोट प्रतियोगिता मार्फत दुई टिमले सहभागिता जनाउने छन्। 

जिम्बाबेमा हुने सोही विश्वकप छनोट प्रतियोगितामा यस लिग-२ का  शीर्ष तीन टिमले सोझै प्रवेश पाउने छन्।स्कटल्यान्डले लिग-२ च्याम्पियन र ओमानले उपविजेता बन्दै विश्वकप छनोटका लागि जिम्बाबेको टिकट काटिसकेका छन्।

स्कटल्यान्ड कुल ३६ खेलबाट ५० अंक र ओमान ४४ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहे। हाल लिगको तेस्रो स्थानमा नामिबिया छ। सबै खेल खेलिसकेको नामिबियाको ३९ अंक छ।

नेपाल भने लिगमा ३२ खेलमा ३२ अंकका साथ पाँचौं स्थानमा छ। यदि अब नेपालले आफ्नो बाँकी सबै चार खेल जितेमा नेपालको लिगमा ४० अंक हुनेछ।

जसको अर्थ नामिबियालाई पछि पार्दै नेपाल लिग-२ मा तेस्रो हुनेछ भने सोझै विश्वकप छनोटमा पुग्नेछ।

नेपाली टिमका कप्तान रोहित पौडेलले पनि अबको नेपाली टिमको लक्ष्य भनेको लिग-२ मा शीर्ष तीनमा पर्ने रहेको बताएका छन्। उनले अब बाँकी चारै खेल जितेर टप थ्रीमा पर्ने योजना रहेको बताएका हुन्।

यो निर्णायक सिरिजबाट नेपाल, नामिबिया वा यूएई मध्ये एक टिम सोझै विश्वकप छनोटमा पुग्ने सम्भावना रहेकोमा नेपालसँग घरेलु मैदानको फाइदा उठाउँदै सबै खेल जित्नुपर्ने दबाब छ।

नेपालले दुई साताअघि मात्र घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग भएको सिरिजको चारै खेल जितेको थियो। लिग-२ मा नेपालले कुनै पनि सिरिजमा चारै खेल जितेको त्यो पहिलो पटक थियो।

त्यसपछि यूएई सिरिजमा पनि चार मध्ये तीन खेल जितेको नेपालको लिग-२ को विदेशी सिरिजमा पनि यो सबैभन्दा ठूलो सफलता थियो।

पछिल्ला आठ खेलमा सातमा जित हात पारेर उच्च मनोबल बनाएको नेपालको लक्ष्य अब घरेलु सिरिजका चारै खेल जित्ने रहेको छ।

तर अन्तिम सिरिजमा चारै खेल जित्न नसके पनि नेपालको लागि विश्वकप छनोट खेल्ने ढोका भने बन्द हुने छैन। लिगमा शीर्ष तीनमा पर्न सकेन भने विश्वकप छनोटमा पुग्न नेपालले क्वालिफायर प्ले-अफ खेल्नुपर्छ।

यस क्वालिफायर प्ले-अफमा लिग-२ मा शीर्ष तीनमा पर्न नसकेका चार टिमले क्यानडा र जर्सीसँग प्रतिस्पर्धा गर्नेछन्।क्वालिफायर प्ले-अफबाट दुई टिम विश्वकप छनोटमा पुग्ने छन्। 

एकदिवसीय मान्यता जोगाउन दुई जित पर्याप्त

नेपालले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट पहिलो पटक एकदिवसीय (ओडीआई) मान्यता पाएको थियो।

अब नेपालले घरेलु मैदानमा हुने लिग-२ को अन्तिम सिरिजका चार खेल मध्ये कम्तीमा दुई खेल मात्र जिते पनि सोझै एकदिवसीय मान्यता जोगिन्छ।

​​​​​​​सात राष्ट्र सम्मिलित लिग-२ मा शिर्ष पाँचभित्र पर्न सके नेपालको एकदिवसीय मान्यता सोझै कायमै रहनेछ। नेपाल लिग-२ को भर्खरै सम्पन्न यूएई सिरिजको अन्तिम खेलमा आयोजक यूएईलाई नै ४२ रनले हराउँदै पाँचौं स्थानमा उक्लिएको छ।

लिग-२ मा नेपालले यूएईलाई हराएको यो पहिलो अवसर थियो। ​​​​​​​यूएई सिरिजका चार खेल मध्ये तीन खेल जित्दै नेपालले ३२ खेलमा १५ जितका साथ ३२ अंक नै जोड्यो र यूएईलाई पछि पार्दै पाँचौं स्थानमा उक्लियो।

​​​​​​​​​​​​​​

अब नेपालले अन्तिम सिरिजका दुई खेल मात्रै जिते नेपालको ३६अंक हुनेछ भने कम्तीमा पाँचौं स्थान पनि पक्का हुनेछ। लिगमा सबै खेल खेलिसकेको अमेरिका ३६ खेलबाट ३५ अंकसहित हाल चौथो स्थानमा छ। यदि नेपाले दुई खेल मात्र जिते पनि अमेरिकालाई पछि पार्नेछ।

तर लिग-२ मा शीर्ष पाँचमा पर्न सकेन भने पनि नेपालको एकदिवसीय मान्यता कायमै रहने अर्को एक अवस्था छ। लिग-२ मा शीर्ष पाँचमा नपर्दा नेपालले जोगाउन नेपालले विश्वकप छनोटमा पुग्न क्वालिफायर प्ले-अफ खेल्नुपर्ने हुन्छ।

यदि ६ टिम सहभागी त्यस क्वालिफायरमा शीर्ष चारमा रहन सके पनि नेपालको एकदिवसीय मान्यता जोगिन्छ।

फागुन २३, २०७९ मंगलबार १४:०१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।