भीम सार्कीको उत्कृष्ट ब्याटिङले जोगायो नेपालको इनिङ, यूएईलाई २३० रनको लक्ष्य

भीम सार्कीको उत्कृष्ट ब्याटिङले जोगायो नेपालको इनिङ, यूएईलाई २३० रनको लक्ष्य

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रनको योगफल तयार पार्यो। 

कुनैबेला मात्र ६८ रन जाेड्दा ५ विकेट गुमाएको नेपालको इनिङलाई भीम सार्कीले जोगाएका थिए।अर्धशतकीय पारी खेलेका उनले ९९ बलमा सात चौकाको मद्दतले ७० रन बनाएका थिए।

त्यसैगरि आरिफ शेखले अविजित ४३ रनको योगदान गर्दा कुशल मल्लले ३२ र सन्दीप लामिछाने २७ रन जोडेका थिए।

नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ११ र आसिफ शेख ६ रनमा आउट हुँदा कप्तान रोहित पौडेल पनि मात्र एक रनमा पेभेलियन फर्किएका थिए।

नेपालले लिग-२ मा हालसम्म यूएईलाई हराउन सकेको छैन। तर जारी लिगको शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न आजको खेलमा नेपालले यूएईलाई हराउनै पर्ने दबाब रहेको छ।

यो खेल समेत लिगमा अब पाँच खेल बाँकी रहँदा नेपाललाई लिग तालिकाको शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता जोगाउन तीन खेल जित्नुपर्ने हुन्छ।

लिग-२ मा यूएई ३१ खेलमा ३१ अंकका साथ पाँचौं स्थानमा छ भने समान खेलबाट ३० अंक रहेको नेपाल छैटौं स्थानमा छ।

फागुन २२, २०७९ सोमबार १५:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।