यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल, कुशलको ठाउँमा प्रतिश जीसीलाई मौका

यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल, कुशलको ठाउँमा प्रतिश जीसीलाई मौका

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ।

यस सिरिजको अन्तिम खेलमा घरेलु टोली यूएईविरुद्ध नेपालले आज टिममा एक परिवर्तन गरेको छ। ओपनर कुशल भुर्तेल घाइते भएपछि उनको ठाउँमा तीव्र गतिका बलर प्रतिश जीसीले टिममा मौका पाएका छन्।

नेपालले लिग-२ मा हालसम्म यूएईलाई हराउन सकेको छैन। तर जारी लिगको शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न आजको खेलमा नेपालले यूएईलाई हराउनै पर्ने दबाब रहेको छ।

यो खेल समेत लिगमा अब पाँच खेल बाँकी रहँदा नेपाललाई लिग तालिकाको शीर्ष पाँचमा रहँदै सोझै एकदिवसीय मान्यता जोगाउन तीन खेल जित्नुपर्ने हुन्छ।

लिग-२ मा यूएई ३१ खेलमा ३१ अंकका साथ पाँचौं स्थानमा छ भने समान खेलबाट ३० अंक रहेको नेपाल छैटौं स्थानमा छ।

यसै सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो।

फागुन २२, २०७९ सोमबार ११:४९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।