म्यानचेष्टर युनाइटेडको ९० वर्षयताकै सबैभन्दा लज्जास्पद हार, लिभरपूलले छिरायो सात गोल

एजेन्सी: गए राति सम्पन्न लिभरपूल र म्यानचेष्टर युनाइटेडबीचको खेलमा लिभरपूल विजयी भयो। लिभरपूलले म्यानचेष्टरलाई ७-० गोलअन्तरले हरायो।
यो ९० वर्षयताकै म्यानचेष्टरको सबैभन्दा फराकिलो र लज्जास्पद हार हो। क्लबको इतिहासको कुरा गर्दा इङ्ग्लिस प्रिमियर लिगमा हालसम्मकै सबैभन्दा फराकिलो र सबै प्रकारको प्रतिस्पर्धामा दोस्रो पटक यस्तो भएको हो।
यति फराकिलो हार (७-०) म्यानचेष्टरले सन् १९३१ मा वोल्भरह्याम्पटनविरुद्ध भोगेको थियो।
यसअघि ६ दिनअघि मात्र न्युकासललाई हराउँदै म्यानचेष्टर युनाइटेडले काराबाओ कपको उपाधि जितेको थियो। म्यानचेष्टरले त्यसबेला ६ वर्षको उपाधि खडेरी तोडेको थियो।
गए रातिको खेलमा लिभरपूलका लागि कोडी गाक्पो, डार्विन नुनेज र मोहम्मद सलाहले दुई-दुई गोल गरे। रोबर्टो फर्मिनोले एक गोल गरे।
सातमध्ये ६ गोल खेलको दोस्रो हाफमा भएको हो।
जितसँगै लिभरपूलले २५ खेलमा ४२ अङ्क जोड्दै पाँचौँ स्थानमा छ। म्यानचेष्टर युनाइटेड भने ४९ अङ्कसहित तेस्रो स्थानमा छ।
फागुन २२, २०७९ सोमबार ०८:०३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।