व्यवसायीलाई प्रधानमन्त्रीले भने - अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउँछु

व्यवसायीलाई प्रधानमन्त्रीले भने - अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउँछु

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिवद्धता जनाएका छन्।

आइतबार आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो प्रतिवद्धता जनाएको व्यवसायीहरूले बताएका छन्।

व्यवसायीहरूले प्रधानमन्त्रीलाई अर्थतन्त्रमा देखिएका चुनौती र समस्याको विषयमा जानकारी दिएको बताए।

उनीहरूले प्रधानमन्त्रीलाई पछिल्लो समय व्यवसायीहरूले बैंकको कर्जा तिर्नसक्ने अवस्था नभएकाले कर्जाको किस्ता तिर्न समयको सहजिकरण गर्नुपर्ने र कर्जा तिर्न नसक्ने वास्तविक समस्यामा सरकारले सहयोग गर्नुपर्ने माग राखेको बताए।

प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले वर्तमान अर्थतन्त्रमा देखिएका समस्यालाई उच्चस्तरीय संयन्त्र बनाएर समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिएको बताए।

उनले भने, ‘अहिले भएका समस्याहरू बैंकको उच्च ब्याजदरले गर्दा तरलतासँग जोडिएका समस्या र समग्र अर्थतन्त्रमा भएका प्रमुख समस्या समाधान गर्नुपर्छ भन्ने कुरा राखेका छौं। कर्जा तिर्नै नसक्नेहरुका हकमा राष्ट्र बैंकले सम्बोधन गर्ने माग हो। अहिले चिन्ताको विषय खराब कर्जा रहेको छ। जसरी बैंकहरुका खराब कर्जा बढ्दै गएको छ । त्यसले आगामी दिनमा देशमा ठूलो दुर्घटना निम्त्याउँछ भनेको छौं।’

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुक आर्थिक रुपमा जटिल अवस्थामा रहेकाले बैंकको वेसरेट नै हटाउनु आग्रह गरेको बताए। अध्यक्ष मल्लले यो विषयमा प्रधानमन्त्रीले सकारात्मक रुपमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरे।

फागुन २१, २०७९ आइतबार १७:०३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।