के पूर्व माओवादी घटकहरू फेरि मिल्न लागेका हुन्?

के पूर्व माओवादी घटकहरू फेरि मिल्न लागेका हुन्?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मञ्चमा 'जनयुद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा म लिन्छु' भन्ने सम्बोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने प्रयास भयो थियो। सर्वोच्चले सो रिट दायर गर्न अनुमति दिएपछि विभिन्न दल र घटकमा विभाजित माओवादी नेताहरू झस्किए।

शान्ति प्रक्रियामा आएपछि माओवादी शक्ति छिन्नभिन्न अवस्थामा छन्। प्रचण्ड माओवादी केन्द्रको नेतृत्व गरेर बसेका छन्। मोहन वैद्य लगायतका नेताहरू अर्कै मोर्चामा छन्।

नेत्र विक्रम चन्द नेकपा माओवादी नाममा सङ्गठित छन् भने धर्मेन्द्र बास्तोला नेकपा बहुमतको नाममा सक्रिय छन्।  बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीको नेतृत्वमा छन्। रामबहादुर थापा बादल लगायतका नेताहरू एमालेमा छन्। 

उनीहरू विभिन्न पार्टीमा विभाजित भए पनि जब माओवादी सशस्त्र द्वन्द्वको विषय आउँछ एक आवाज हुने गरेका छन्।

आइतबार माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड लगायतका धेरै पूर्व माओवादी नेताहरू एउटै मञ्चमा उपस्थित भए।‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्ने सबैको मत थियो ‘ हामीलाई अपराधी जस्तो व्यवहार भयो, अब सबै माओवादीहरू एक हुनुपर्ने बेला आएको छ।’

राज्यले सम्मान गर्नुपर्नेमा सशस्त्र द्धन्द्धलाई अपराध अनि त्यसमा संलग्नहरूलाई अपराधीझैँ व्यवहार गरेर अपमानित गर्ने गरेको नेताहरूको धारणा थियो। 

प्रचण्डले कार्यक्रममा सबै माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गर्दै आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र बाबुराम भट्टराईसँग एकताको कुरा निकै अघि बढिसकेको बताएका थिए। 

‘मैले विप्लवजीसँग कुरा गर्दा बडो गम्भीरताका साथ भनेको छु। तपाईँले हासिल गरेका सफलता, या तपाईँले गरेका तीता, मीठा अनुभव ति सबै मेरा पनि हुन्। बाबुरामजी र म त कुरा गर्दै धेरै अगाडि बढी पनि राखेका छौँ। धर्मेन्द्रजीसँग पनि कुरा भइराखेको छ’ उनले भने।

उता नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले पनि पछिल्लो समयमा माओवादी ‘जनयुद्ध’लाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएकोले माओवादीहरु एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका थिए।

उनले सबै माओवादीहरु पहिले विभाजित भएपनि अब मिलेर जानुपर्ने बेला आएको उल्लेख गरे।

उनले भने, ‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दा पनि पहिला कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ। त्यसपछि मिल्न सक्नेहरु जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ।’

त्यसैगरी नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले देशमा अधुरा रहेका क्रान्तिहरू सम्पन्न गर्नका लागि सबै कम्युनिष्ट शक्तिहरू मिल्नुपर्ने बताए। वैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीहरू एकजुट हुनुपर्ने उनको धारणा थियो।

उनले भने, ‘अब अहिले फेरी २०५२ सालको जस्तो अवस्था सम्भव छैन। नयाँ तरिकाले हामी अगाडि बढ्नुपर्ने छ। त्यसको निम्ति हामी सबै एकै ठाउँमा आउँ। अगाडि बढौँ। नेपालमा क्रान्ति कसैले रोक्न सक्दैन। इतिहासको प्रवाहलाई कसैले रोक्न सक्दैन।’

‘राजतन्त्र फर्केर आउने यो बेलायत होइन। यो जापान पनि होइन। यो १७ औँ शताब्दी, १५ औँ शताब्दी होइन। यो २१ औँ शताब्दीको दुनियाँ हो। वैज्ञानिक समाजवाद स्थापना हुन्छ। सबै कम्युनिष्ट पार्टीहरू एक ठाउँ होऔँ,’ उनले थपे।

त्यसै कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले २०६० सालको माओवादी ब्यूँताउन सकिने बताए।

उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्दा समेत कोही बोल्न नसकेको बताए।

उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए।

उनले भने, ‘यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन। माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहरिन्छ। हामी एक भएर उठ्यौँ भने २०६० सालको माओवादी ब्यूँताउन सकिन्छ।’

एकता सम्भव छ ?

जब प्रचण्ड लगायतका अलग भएका माओवादी नेताहरू एकै मञ्चमा हुन्छन् एकताको प्रसङ्ग उठिहाल्छ। आइतबार पनि त्यही भयो। जनता समाजवादी पार्टी छाडेपछि पछिल्लो समय प्रचण्ड र बाबुराम भट्टराईबिच निकटता बढेको देखिन्छ। तर अन्य नेताहरूसँगको सम्बन्ध भने उस्तै देखिन्छ।

मोहन वैद्य किरणसँग प्रचण्डको सम्बन्ध सुध्रन सकेको देखिन्न। नेत्रविक्रम चन्द लगायतका नेताहरूसँग एकै पार्टी निर्माणको प्रयास मञ्च बाहिर गृहकार्यमा पुग्न सकेको छैन। 

एमाले र माओवादी एकतापछिको नेकपामा रहेका माओवादी नेताहरू जो एमालेमै रहे अहिले उनीहरू गुमनाम छन्। तर न उनीहरू एमाले छाडेर माओवादीमा फर्कन प्रयासरत देखिन्छन् न प्रचण्डले नै नतिजा मुलुक प्रयास गरेको देखिन्छ।

फागुन २१, २०७९ आइतबार १६:२०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।