बाबुरामजीसँग एकताको कुरा धेरै अगाडि बढिसक्यो : प्रचण्ड

बाबुरामजीसँग एकताको कुरा धेरै अगाडि बढिसक्यो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन्।

आइतवार ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा उनले सबै माओवादीहरूले एक अर्काको अनुभवहरूलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्ने बताए।

उनले भने, ‘समय आएको छ। फेरि हामी माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ। माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रुपमा अगाडि आयो। शान्ति प्रक्रियापछि यो विभिन्न भंगालाहरु तिर विभाजित जस्तो भयो। अब समय फेरि बग्दै जाँदा ति सबै भंगालाहरु एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो।’

प्रचण्डले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने यो कुरा निकै अघि बढिसकेको बताए। 

‘मैले विप्लवजीसँग कुरा गर्दा बडो गम्भीरताका साथ भनेको छु तपाईँले हासिल गरेका सफलता, या तपाईँले गरेका तीता, मीठा अनुभव ति सबै मेरा पनि हुन्। बाबुरामजी र म त कुरा गर्दै धेरै अगाडि बढी पनि राखेका छौँ। धर्मेन्द्रजीसँग पनि कुरा भइराखेको छ,’ उनले थपे।

उनले हाल आफूले जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न दबाब र घेराबन्दी विरुद्ध लडिरहेको बताए। 

फागुन २१, २०७९ आइतबार १५:१५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।