माओवादीहरु एकै ठाउँमा उभिनुपर्ने बेला आएको छ : बाबुराम भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादीहरु एकै ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन्।
आइतबार ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले पछिल्लो समयमा माओवादी ‘जनयुद्ध’लाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए।
उनले भने, ‘हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दा पनि पहिला कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ। त्यसपछि मिल्न सक्नेहरू जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ। पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ।’
‘एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो? यो निहुँ खोजेको होइन? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने, मुद्दा लगाउने भनेर निर्णय गर्ने कुरा भनेको निहुँ खोजेको होइन, जिस्केको होइन? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि,’ उनले थपे।
उनले सबै माओवादीहरु एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दाहरुमा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताए। भट्टराईले माओवादी विभाजित भएपनिअब मिलेर जानुपर्ने बेला आएको उल्लेख गरे।
फागुन २१, २०७९ आइतबार १४:५०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।