कसैले गठबन्धन भत्काउने धराप थाप्न नआए हुन्छ, यो पाँचै वर्ष रहन्छ : गगन थापा

कसैले गठबन्धन भत्काउने धराप थाप्न नआए हुन्छ, यो पाँचै वर्ष रहन्छ : गगन थापा

काठमाडौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि हालको आठ दलको गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्।

शुक्रवार आठ दलको गठबन्धनले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरुलाई केन्द्रित गरेर काठमाडौंमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो चेतावनी दिएका हुन्।

उनले आफूहरुका बीचमा भएको यो सहमति पाँचै वर्षसम्म कार्यान्वयन भएर अगाडि बढ्ने बताए।

उनले राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न पनि आग्रह गरेका छन्।

‘पाँच वर्ष यो गठबन्धन केही हुँदैन। कहीं, कतै, कोही, धराप थाप्न नआए पनि हुन्छ। पार्टीका कोही कसैलाई भेटेर फेरि नेपाली कांग्रेससँग चकचक गर्ने काम बन्द गरे हुन्छ। यसबाट तेल निस्कनेवाला छैन। यो कुरा राम्रोसँग बुझे हुन्छ,’ उनले भने।

थापाले आफूहरुका बीचमा भएको सहमति कार्यान्वयन नभएमा दलहरु माथिको इमान्दारीता र विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै त्यसो हुन नदिने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाइराख्नका लागि मात्रै यो गठबन्धन नबनेको पनि स्पष्ट पारे।

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल नै प्रधानमन्त्री हुने कुरा महत्वको कुरा थियो भने यो गठबन्धन बनाउनै पर्दैनथ्यो। माओवादीले उपराष्ट्रपति पनि पाउँथ्यो र एमालेको समर्थनमा पाँचै वर्ष प्रधानमन्त्री पनि पाउँथ्यो। ल्याप्चे, तमसुक, कालो दलेर जे-जे गरिदिनुपर्ने हो उठेर, बसेर सबै गरिदिन्थ्यो, सबै कुरा पाउँथ्यो।’

दाहाललाई एमालेले पाँचै वर्ष प्रधानमन्त्री दिएको भए पनि त्यसलाई त्यागेर नयाँ गठबन्धन बनाइएको उनले बताए। त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि एमालेले राष्ट्रपतिको उम्मेदवार अथवा एमालेको अध्यक्ष नै बनाउन पनि तयार भएको अवस्था छोडेर यो गठबन्धन बनेको उनले बताए।

फागुन १९, २०७९ शुक्रबार १८:०१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।