उप–सभामुखको गुनासो– ‘आर्मी पनि दिएनन्, मन्त्रीसरहको सुविधा पनि छैन’

काठमाडौं : प्रतिनिधिसभाकी उप–सभामुख इन्दिरा रानाले राज्यबाट पाउनुपर्ने सेवा– सुविधा नपाएको गुनासो गरेकी छन्।
भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उप–सभामुख रानाले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सुविधामा समेत विभेद गरिएको बताइन्।
पुरुष उप–सभामुख हुँदा पाएको निवास सुविधा आफूले एक महिना हुँदासम्म नपाएको उनले बताइन्।
‘उप–सभामुख भएपछि काम, कर्तव्य र अधिकारसँगै थुप्रै सुविधाहरू पनि हुने रहेछ। म अन्याय र विभेद सहन नसक्ने मान्छे हो। सांसद् मात्रै हुँदा म नर्मल ठाउँबाट जान्थे,’ उनले भनिन।
‘पहिला पुरुष उप–सभामुख हुँदा चाहीँ आर्मी दिन्थ्यो रे। उहाँहरूलाई चाहीँ मन्त्री सरह सुविधा हुन्थ्यो रे! उप–सभामुखलाई घर दिने रे भनिएको छ,’ उनले अगाडि थपिन्, ‘तर अहिलेसम्म मलाई दिइएको छैन। ३६ हजार निवास भाडा दिइएको छ। आफू ४४ हजार तिरेर बस्नुपरेको छ।’
उपसभामुख रानाले आफू सानो पार्टीबाट आएकाले राज्यबाट पाउने सेवा, सुविधामा विभेद गरेको हुनसक्ने बताइन्।
फागुन १९, २०७९ शुक्रबार १७:१६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।