लिएको ऋण त नतिरी सुखै छैन, दबाब समूह बनाएर केही हुन्न : डेपुटी गभर्नर मिश्र

लिएको ऋण त नतिरी सुखै छैन, दबाब समूह बनाएर केही हुन्न : डेपुटी गभर्नर मिश्र

काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन्।

शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मिश्रले व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्नको लागि दबाब समूह बनाएर कालोमोसो दल्ने जस्ता काम गर्ने गरेकोमा यस्तो गर्दैमा कर्जा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गरेका हुन्।

उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुबाट जसले कर्जा लिएका छन् तिनले अब कर्जा तिर्दिन वा कर्जा नतिर्नुहोस् भनेर कसैले क्याम्पेन गर्नुहुँदैन। यो गर्न नहुने काम हो।’

अहिले दैनिक जीवनमा देखिएका कालोमोसो लगाउन दस्ता बनाउने जस्ता कामले समाजमा विश्रृंखलता पैदा गरेको उनले बताए।

‘बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्दिन भनेर सुखै छैन। त्यसको परिकल्पना नगर्न आग्रह छ। बैंक, वित्तीय संस्था लगायतको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको होइन। त्यो नेपाली दाजुभाइ दिदिबहिनीहरुले बैंकमा राखेको पैसा हो,’ उनले थपे।

उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिर्वतन भएको कारण र पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका बैंकहरुले ब्याज बढाएको कारण धेरै देशको आर्थिक अवस्थामा केही सकस पर्न गएको बताए।

त्यसको असर नेपालमा पनि परेका र नेपाल आयातमुखी देश भएका कारण आयातमा आएको संकुचनको कारण समस्या आएको उनले बताए। 

उनले राष्ट्र बैंकले व्यवसायीहरुको हितको लागि केही सर्कुलर जारी गरेको भन्दै राष्ट्र बैंकले नीतिगत रुपमा गर्नसक्ने विषयमा के-के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको पनि उल्लेख गरे।

फागुन १९, २०७९ शुक्रबार १६:५९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।