साप्ताहिक शेयर समीक्षा: अस्थिरता उन्मुख राजनीति र राष्ट्र बैङ्कको रवैयाले नेप्से बियरिश यात्रामा

राजनीतिक अस्थिरता निम्तने जोखिमले 'बुलिश' यात्रातर्फ बामे सर्दै गरेको नेप्सेलाई पुनः 'बियरिश' यात्रातर्फ उन्मुख गराएको छ। यसको पछाडिको अर्को कारण राष्ट्र बैङ्कको आर्थिक नीति पनि हो।
राष्ट्र बैङ्कले लघुवित्तहरूलाई कस्ने नीति ल्याएसँगै लघुवित्त क्षेत्रमा त पहिरै गएको छ।
यो साता पाँचै दिन शेयर कारोबार भएको थियो। आइतबार नेप्से थोरै उकालो लागेर हरियो झण्डा देखाएको थियो।
अघिल्लो साताको शुक्रबार २०२२.६४ मा बन्द भएको नेप्से आइतबार ४.५५ ले बढेर २०२७.१९ मा पुगेर रोकिएको थियो। सो दिन करिब दुई अर्ब ५० करोडको कारोबार भएको थियो।
साताको दोस्रो कारोबारको दिन अर्थात् सोमबारदेखि नेप्सेले ओरालो यात्रा समात्यो। सोमबार र मङ्गलबार नेप्सेमा थोरै गिरावट आयो। बुधबार र बिहीबार नेप्से अत्यधिक अङ्कले घटेको थियो।
सोमबार नेप्से ३.६५ अङ्कले घटेर २०२३.५४ मा पुगेको थियो। कारोबार रकममा पनि कमी आएको देखिन्थ्यो। सो दिन करिब एक अर्ब ८९ करोडको कारोबार भएको थियो।
मङ्गलबार पनि नेप्से सोमबार जस्तै थोरै अङ्कले घट्यो। सो दिन ३.६१ अङ्कले घटेर नेप्से परिसूचक २०१९.९३ मा पुगेर रोकिएको थियो। कारोबार मात्र एक अर्ब ३५ करोडमा सीमित भयो।
बुधबार भने नेप्से फराकिलो अङ्कले घटेको थियो। सो दिन नेप्से परिसूचक २४.४४ अङ्कले घटेर १९९५.४९ मा पुगेर रोकिएको थियो। कारोबार रकम पनि घटेको थियो। त्यो दिन मात्र एक अर्ब २६ करोडको कारोबार भएको थियो।
बिहीबार नेप्सेले फराकिलो अङ्ककै ओरालो बाटो तय गर्यो। सो दिन २६.४७ अङ्कले गिरावट आएर नेप्से परिसूचक १९६९.०३ मा पुगेर रोकियो। कारोबार रकम पनि मात्रै एक अर्ब ३२ करोडमा सीमित थियो।
नेप्सेको बियरिश यात्राको कारक अस्थिर राजनीति
नेप्से ओर्लनुका पछाडिको मुख्य कारण नै राजनीतिक उतारचढाव देखिन्छ। राष्ट्रपति चयनमा सरकारको गठबन्धनमा रहेका दलहरूका बीचमा कुरा मिल्न नसकेपछि एमालेसहितको गठबन्धन भाँडियो। एमाले सरकारबाट बाहिरियो। राप्रपा पनि सरकारबाट बाहिरियो।
अब सरकारले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको छ।
शेयर बजारले रुचाइएका अर्थमन्त्री विष्णु पौडेलले राजीनामा दिए। राष्ट्र बैङ्कको रवैया पनि बजार अनुकूल देखिएन।
अर्थमन्त्री को हुने हो भन्ने टुङ्गो लागेको छैन। शेयर बजार अनुकूल अर्थमन्त्रीको नियुक्ति भएमा शेयर बजारले पुनः बुलिश यात्रा तय गर्न सक्छ।
अहिले बजार घटेको कारण अस्थिर राजनीति नै हो। किनकि बजार २२७८ पुग्दा र अहिलेको बीचमा अर्थतन्त्रका परिदृश्यहरूमा खासै ठूलो परिवर्तन भएको छैन।
यसबीचमा केबल राजनीतिक उतारचढाव मात्र भएको छ। तर राजनीतिको प्रभाव शेयर बजारमा अल्पकालीन मात्र हुने गर्छ।
यतिबेला राजनीतिबाट हुने गिरावट सकिएको अब आधारभूत पक्षहरूकै आधारमा बजारले आफ्नो प्रतिक्रिया दिनसक्छ।
तरलता अवस्था सहज हुँदै जाँदा समेत बैङ्कहरूले फागुनमा ब्याजदर घटाउन कन्जुस्याइँ गरेकाले पनि शेयर बजारमा केही प्रभाव परेको अनुमान गरिएको छ।
फागुन १९, २०७९ शुक्रबार १२:३८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।