मेस्सीलाई धम्की, 'हामी कुरिरहेका छौँ' भन्दै ससुरालीले चलाएको सुपरमार्केटमा गोली प्रहार

एजेन्सी: हतियारधारीहरूले अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीलाई धम्की दिएका छन्। बिहीबार बिहानतिर मेस्सीको गृहनगर रोसारियोमा रहेको उक्त सुपरमार्केटमा गोली चलाइएको थियो।
सुपरमार्केट मेस्सीको ससुरालीतर्फको आफन्तले चलाएको हुन्। सुपरमार्केटमा एक दर्जन गोली प्रहार गर्दै ती हतियारधारीले अब मेस्सीलाई कुरिरहेको बताएका छन्।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए। घटनामा कुनै मानवीय क्षति भने भएन।
उनीहरूले एउटा कार्डबोर्डमा सन्देश पनि छोडेर गए, जहाँ लेखिएको थियो- 'मेस्सी, हामी कुरिरहेका छौँ। (रोसारियोका मेयर पाब्लो)हाभकिन पनि लागूऔषध तस्कर हुन्। उनले पनि तिमीलाई बचाउँदैनन्।'
मेस्सीमाथि किन आक्रमणको योजना बुनिएको हो भन्ने हालसम्म स्पष्ट भएको छैन। मेस्सीले पनि यसबारे आफ्नो धारणा व्यक्त गरेका छैनन्।
केही महिनाअघि मात्र मेस्सीले अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका थिए।
फागुन १९, २०७९ शुक्रबार ०८:३८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।