नेपाली यौन बजारमा युगान्डाको युवती, वेटरको काममा ६० हजार कमाइको लोभमा ल्याएर धन्दामा लगाएको आरोपमा पक्राउ

काठमाडौँ : नेपालमा क्लिनर काम गरेर महिनाको पाँच सय अमेरिकी डलर (करिब ६६ हजार) कमाई हुने प्रलोभनमा युगान्डाबाट महिलालाई नेपाल ल्याएर यौन व्यवसायमा लगाउने गरेको मानव बेचबिखन ब्युरोको एक अप्रेसनले खुलाएको छ।
अफ्रिकी मुलुक युगान्डाकी २५ वर्षीया नताशा भनिने एमाकुलेट नाबासुम्बाले एक महिलालाई नेपाल बोलाएर ठमेलको होटेलमा राखेर जवर्जस्ती यौन व्यवसायमा लगाउने गरेको खुलाएको हो।
ब्युरोका प्रवक्ता कृष्ण पंगेनीका अनुसार युगान्डा मसाका घर भएकी उनी पर्यटक भिसामा नेपाल आएर ठमेलस्थित ‘होटेल जर्नी होम प्रालि’ मा बस्दै आएकी थिइन्। उनले युगान्डामा परिचित एक युवतीलाई नेपालमा क्लिनर र वेट्रेसको काम पाउने र मासिक पाँच सय अमेरिकी डलर कमाए हुने भन्दै नेपाल बोलाएकी थिइन्।
उनले ती महिलालाई सन् २०२३ जनवरी २८ मा हवाई मार्गबाट नेपाल बोलाएर होटेलमा राखेर यौन व्यवसायमा लगाउने गरेको प्रहरीको दाबी छ।
पीडित युवतीले प्रहरीलाई दिएको जानकारी अनुसार उनले दैनिक पाँच जनासम्म ग्राहकसँग यौन सम्बन्ध राख्न लगाउँथिन् र प्रति ग्राहक सात हजार रुपैयाँसम्म पैसा लिने गर्थिन्।
आफूले भनेको नमाने युगान्डामा रहेका ती युवतीको परिवारको हत्या गर्ने भन्दै धम्काएर काममा लगाएकी थिइन्।
अधिक ग्राहकको कारण युवती बिरामी भएपछि उनलाई युगान्डा पठाउने भन्दै विमानस्थलमा पठाए पनि उनले प्लेन टिकट रद्द गरेपछि ती पीडित युवती विमानस्थलको प्रहरीको सम्पर्कमा आइन्।
उनले प्रहरीलाई सबै घटना खुलाएपछि प्रहरीले बिहीबार युगान्डाकी अर्को युवतीलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर हिरासतमा राखेको छ।
पछिल्लो समयमा नेपालको लाउन्ज र बारहरूमा विदेशी युवतीहरू समेत देखिने गरेका छन्। उनीहरूलाई यौन व्यवसायमा संलग्न समूहले विभिन्न बहानामा नेपाल ल्याएर जवर्जस्ती धन्दामा लगाएको प्रहरीको आशङ्का छ।
ब्युरोले नेै थप चार युगान्डाका युवतीको पहिचान गरेको छ। उनीहरुसँग जानकारी लिने काम भइरहेको ब्युरोका अधिकारीले जानकारी दिए।
पक्राउ परेकी युगान्डाकी युवतीले पहिल्यैदेखि यस्तो धन्दा चलाएको शंकामा प्रहरीले अन्य पीडितहरूको समेत खोजी सुरु गरेको छ।
फागुन १८, २०७९ बिहीबार २२:३२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।