लिग- १ मा पीएसजीको जित, रोनाल्डोपछि मेस्सीले पूरा गरे ७०० क्लब गोलको कोशेढुङ्गा

एजेन्सी: जारी फ्रेन्च लिग- १ मा पीएसजीले सहज जित हात पारेको छ। आफ्नो परस्पर प्रतिद्वन्द्वी मार्सेलेलाई पीएसजीले ३-० गोलअन्तरले हराएको हो।
खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले २९औँ मिनेटमा एक र फ्रेन्च फर्वार्ड किलियन एम्बाप्पेले २५ र ५५औँ मिनेटमा दुई गोल गरे। रोचक त के छ भने, मेस्सीको एक गोलमा असिस्ट एम्बाप्पेको थियो भने एम्बाप्पेको दुवै गोलमा असिस्ट मेस्सीको थियो।
खेलमा पीएसजीको जितसँगै अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अर्को कीर्तिमान पनि बनाएका छन्। उनको क्लब गोलको सङ्ख्या ७०० पुगेको छ। युरोपका शीर्ष पाँच लिगमा आबद्ध क्लबका लागि ७०० गोलको कोशेढुङ्गा पूरा गर्ने उनी क्रिस्टियानो रोनाल्डोपछि दोस्रो व्यक्ति हुन्।
युरोपका शीर्ष क्लबका लागि रोनाल्डोको गोल सङ्ख्या ७०१ छ। अहिले उनी साउदी अरेबियाको लिगमा अल नासरको लागि खेल्ने गर्छन्।
यस्तै एम्बाप्पेले पनि कीर्तिमान बनाएका छन्। उनी पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा एडिन्सन कभानीसँग शीर्ष स्थानमा पुगेका छन्। पीएसजीका लागि दुवैको गोल सङ्ख्या २०० पुगेको छ।
मेस्सीको भने पीएसजीका लागि गोल सङ्ख्या २८ पुगेको छ। मेस्सीले बार्सिलोनाका लागि भने ७७८ खेलमा ६७२ गोल गरेका थिए। उनले राष्ट्रिय टोली अर्जेन्टिनाका लागि भने ९८ गोल गरेका छन्। दुई गोल थप गरेमा उनी राष्ट्रिय टोलीका लागि १०० गोल गर्ने हालसम्मकै तेस्रो खेलाडी बन्नेछन्।
उक्त जितले पीएसजीलाई लिगको शीर्ष स्थानमा कायमै राखेको छ।
फागुन १५, २०७९ सोमबार ०७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।