स्पेनलाई विश्वकपको उपाधि दिलाउने खेलाडी रामोसले लिए सन्यास

एजेन्सी: स्पेनका सर्जियो रामोसले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन्। सन् २०१० मा स्पेनले विश्वकप जित्दा रामोसको भूमिका महत्त्वपूर्ण थियो।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सन्यास घोषणा गरेका हुन्। रक्षापङ्क्तिबाट खेल्ने रामोसलाई कतिपयले महान् डिफेन्डर समेत भन्ने गरेका छन्। उनी स्पेनका पूर्व कप्तान समेत हुन्।
हाल रामोस क्लब तहमा फ्रेन्च क्लब पीएसजीबाट खेल्छन्। त्यहाँ उनको टिममेट लियोनल मेस्सी, किलियन एम्बाप्पे, नेयमार जुनियर लगायत छन्।
रामोसले आफ्नो खेल जीवनमा सन् २०१० को विश्वकप, सन् २००८ र २०१२ को युरोकप लगायत विभिन्न महत्त्वपूर्ण उपाधि जितेका छन्।
उनले राष्ट्रिय टिम छोड्ने तत्काल कुनै सोच नबनाए पनि हालका प्रशिक्षकको कारण छोड्न बाध्य भएको पनि बताएका छन्। प्रशिक्षक लुई डे लf फुएन्टेले रामोसलाई फोन गरेर अबदेखि राष्ट्रिय टिममा उनलाई नसमेट्ने बताएपछि सन्यासको निर्णय लिएको रामोसले बताएका छन्।
"उमेर आफैँमा कुनै गुण वा दोष होइन, यो केवल एक सङ्ख्या हो जुन प्रदर्शन वा क्षमतासँग सम्बन्धित छैन', रामोसको विज्ञप्तिमा उल्लेख छ, 'म मोड्रिच, मेस्सी र पेपे जस्ता खेलाडीहरूको प्रशंसा र ईर्ष्या गर्छु। तिनीहरू परम्परा, मूल्यमान्यता, योग्यता र गुणका सार हुन्।दुर्भाग्यवश, मेरो लागि त्यस्तो हुनेछैन किनभने फुटबल सधैँ निष्पक्ष हुँदैन र फुटबल कहिल्यै फुटबल मात्र हुँदैन।"
रामोस आउँदो मार्च ३० मा ३७ वर्ष लाग्दैछन्। उनले सन् २००५ मा अनतर्राष्ट्रिय खेल जीवनमा डेब्यु गरेका थिए। कतार विश्वकपमा भने चोटका कारण रामोस टिममा थिएनन्। १८० क्यापसहित रामोस स्पेनका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन्।
फागुन १२, २०७९ शुक्रबार ०७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।