जसपालाई उपराष्ट्रपति दिन माओवादी 'सकारात्मक'

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन माओवादी केन्द्र सकारात्मक भएको दाबी गरेका छन्।
बिहीबार सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले छलफललमा जसपालाई उपराष्ट्रपति दिन प्रचण्ड सकारात्मक भएको बताए। उनले आगामी दिनमा सरकारको विषयमा समेत छलफल हुने बताए।
'अहिलेको सरकार त हामी बाहेकको सरकार न हो। एमाले र माओवादी लगायतका पार्टीहरूको सहकार्यमा बनेको सरकार हो। त्यसको विषय के हो ? अब कि यता कि उता त लाग्नुपर्यो' उनले भने।
छलफलमा प्रचण्डले काँग्रेसलाई पनि समेटेर सँगै लानुपर्ने धारण राखेको उनले जानकारी दिए। राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै दलका नेताहरूबिच भेटघाट र छलफलकोक्रम तीव्र बनेको छ।
राष्ट्रपति लगायतका विषयमा छलफल गर्न माओवादी, काँग्रेस, एकीकृत समाजवादी र जसपाको नेताहरूको बैठक बस्दै छ।
फागुन ११, २०७९ बिहीबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।