दुई महिनामै गठबन्धन बदल्दै प्रचण्ड

काठमाडौँ : निर्वाचनमा गएको पाँच दलीय गठबन्धन छाडेर एमालेसहितको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड पुरानै गठबन्धनमा फर्कने तयारीमा सक्रिय भएका छन्।
काँग्रेससहितको गठबन्धन छाडेर एमालेसहितको गठबन्धनमा सहमत भएका प्रचण्ड २ महिनामै पुरानै गठबन्धनमा फर्कने रणनीतिमा लागेका हुन्।
पाँच दलीय गठबन्धन ब्युँताउन प्रचण्ड र नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनलाई आधार बनाउने तयारी गरेका छन्।
पहिलो कार्यकाल प्रधानमन्त्री दिन कांग्रेसले आनकानी गरेपछि प्रचण्ड एमालेसहितको समर्थनमा पुस १० गते प्रधानमन्त्री बनेका थिए।
उनले पुस २६ मा विश्वासको मत दिँदा प्रमुख प्रतिपक्षी दल कांग्रेससहितका अन्य विपक्षी दलहरूले मत दिए।
कांग्रेसले विश्वासको मत दिए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको भविष्यमाथि शङ्का गरेका थिए। उनले संसदमै कांग्रेसले केही पर्ला कि भनेर ढोक्सा थापेको भन्दै ढोक्सामा केही नपर्ने दाबी गरेका थिए।
सभामुख र उपसभामुख सहमति अनुसार एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भए। राष्ट्रपतिमा भने प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा चयन गर्ने बताएपछि गठबन्धनमा खटपट सुरु भएको थियो।
बुधवार चरणमा काङ्ग्रेस-माओवादी पुरानै गठबन्धन ब्युँतने पुगे।
छाया प्रधानमन्त्री बन्दा असन्तुष्ट दाहाल
प्रचण्ड प्रधानमन्त्री भए पनि गठबन्धनमा ओली हाबी भएका थिए। आफ्नै नेतृत्वमा राजनीतिक संयन्त्र बनाएका ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिएर गठबन्धनमा माओवादीलाई कमजोर बनाएका थिए।
गठबन्धनमा मन्त्रालयको भागबन्डामा समेत ओली नै हाबी देखिएका थिए। प्रचण्ड गृह मन्त्रालय आफ्नै पार्टीमा राख्ने तयारीमा थिए।
तर शपथकै दिन उपप्रधानसहित गृह नपाए सरकारमा सहभागी नहुने रास्वपाका सभापति रवि लामिछानेको चेतावनीपछि सरकारमा उपप्रधानमन्त्री थपिए भने गृह माओवादीबाट खोसियो।
नागरिकता निष्क्रिय रहेको सर्वोच्च अदालतको आदेशसँगै रविको मन्त्री र सांसद पद दुवै गए पनि रास्वपाले गृहमा दाबी गर्दै निरन्तर प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाएको थियो। यसमा पनि ओलीले प्रचण्डलाई साथ नदिई उल्टो दबाब दिएका थिए।
पछिल्लो समय प्रचण्डले पार्टीको आन्तरिक बैठकहरूमा ओलीले रास्वपा र राप्रपासँग मिलेर चेपुवामा पारेको र राष्ट्रपतिको निर्वाचनपछि धोका हुनसक्ने ब्रिफिङ गर्ने गरेका थिए।
प्रचण्ड गठबन्धन काङ्ग्रेससँगै सहज हुने भन्दै पुरानै गठबन्धन ब्युँताउने प्रयासमा थिए।
बुधवारको बैठकहरूपछि एमालेसहितको गठबन्धन दुई महिनामै सङ्कटमा परेको छ भने पाँच दलीय पुरानै गठबन्धन ब्युँतने सम्भावना बढेर गएको छ।
फागुन ११, २०७९ बिहीबार ११:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।