एनआईसी, नेपाल बैंक र साङ्ग्रिला डेभलपमेन्टको एटीएम फोर्ने क्रममा दुई जना पक्राउ

पोखरा: पोखरामा बैंकको एटीएम मेसिन फोर्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मङ्गलबार राति पोखरा महानगरपालिका– १० रामबजारमा रहेको एनआईसी एसिया बैंकको एटीएम, वन क्याम्पसगेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटीएम र रामबजारकै पेन्सन क्याम्प नजिक रहेको साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटीएम मेसिन फोर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
एटीएम तोडफोडमा संग्लग्न उदयपुर गाईघाट नगरपालिका– ७ स्थायी घर भई हाल पोखरा– १७ छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लम्जुङ मर्स्याङ्दी– ४ स्थायी घर भई हाल पोखरा– १७ छोरेपाटन बस्ने २१ वर्षीय लुउबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक एवं प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए।
पक्राउ परेका माथि चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए।
फागुन १०, २०७९ बुधबार २२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।