मेडिकल काउन्सिलले एक फर्जी चिकित्सकसहित १४३ जनाको नाम हटायो

काठमाडौं: नेपाल मेडिकल काउन्सिलले १४३ जना चिकित्सकको नाम काउन्सिलको दर्ता किताबबाट हटाएको छ। काउन्सिलले नाम हटाएको मध्ये एक जना फर्जी कागजत पेश गर्ने समेत परेका छन्।
फर्जी चिकित्सक हुन्- यशे लोडो लामा। एमबीबीएस तह भनिएका लामाको एनएमसी नं. ‘४७३४’ थियो।
नाम हटाइएका बाँकी १४२ जना भने मृत्यु भइसकेका चिकित्सक हुन्। तीमध्ये १३२ जना एमबीबीएस र तीन जना एमडी गरेका चिकित्सक थिए।
त्यसैगरी एमबीबीएस, एमएस र एमसीएच अध्ययन गरेका अर्का एक चिकित्सकको नाम पनि हटाइएको छ।
बीडीएस अध्ययन गरेका सात जना मृतक चिकित्सकका नाम पनि काउन्सिलले हटाएको छ।
त्यसैगरी काउन्सिलले नेपाल मेडिकल कलेज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र निजी अस्पतालमा काम गर्ने ३१८ जना विदेशी नागरिकको चिकित्सक दर्ता कायम गरेको जनाएको छ।
पुष १६ (३१ डिसेम्बर, २०२२) सम्ममा एमबीबीएस र बीडीएस गरी ३२ हजार २१८ चिकित्सक नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका छन्।
एमडी/एमएस र एमडीएस तहका १० हजार ८० चिकित्सक काउन्सिलमा दर्ता छन्।
नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा १३ मा भएको व्यवस्था बमोजिम दर्ता किताब दुरुस्त राखी समय–समयमा नाम दर्ता भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाउने, र दर्ता अभिलेख अध्यावधिक गर्ने काम सम्पन्न गर्नुपर्ने भएअनुसार चिकित्सकहरूको नाम हटाइएको काउन्सिलले जनाएको छ।
तर, सूचनामा उल्लेख भएका कुनै पनि चिकित्सकको नाम भुलवश हट्न गएको अवस्थामा काउन्सिलमा सम्पर्क गर्न समेत जानकारी गराइएको छ।
फागुन १०, २०७९ बुधबार २०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।