भोलिदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि गर्न मिल्ने

भोलिदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि गर्न मिल्ने

पोखरा: नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भोलिदेखि रात्रिकालीन उडान पनि गर्न मिल्ने भएको छ। विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली जडान भएसँगै राति पनि सहज रूपमा जहाज उडान र अवतरण गर्न सकिने भएको हो।

भोलिदेखि राति पनि सहज रूपमा उडान र अवतरण गर्न सकिने विमानस्थल प्रमुख विक्रम गौतमले बताए। उनले यस विमानस्थलबाट रात्रिकालीन उडानका लागि विमान कम्पनीलाई जानकारी गराइसकेको बताए।

आईएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भीएफआर) को तुलनामा निकै सुरक्षित र सहज भएको दावी प्राधिकरणको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै वायुसेवाले आईएफआर प्रणालीअन्तर्गत अनिवार्य उडान गर्नुपर्ने छ।

आन्तरिक उडानमा सबैभन्दा ठूलो बुद्ध एयरले पोखराबाट रात्रिकालीन उडान गर्ने तयारी गरेको छ। बुद्धले आन्तरिक उडानमा पोखरालाई दोस्रो हब बनाएर उडान विस्तारको योजना पनि बनाएको छ।

फागुन २५ देखि पोखराबाट रात्रिकालीन उडान गर्ने योजना बनाएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए। राति बुद्ध एयरका चार वटा जहाज पोखरा विमानस्थलमा नै रहने छन्।

बुद्धले पोखराबाट नियमित दिवाकालीन उडान गर्दै आएका शहरहरूमा राति उडान गर्ने तयारी थालेको छ। बुद्धले हाल पोखराबाट काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा उडान गरिरहेको छ।

औपचारिक उद्धाटनसँगै बुद्ध एयरले पोखराबाट भारतको बनारसमा पहिलो अन्तर्राष्ट्रिय उडान भर्न चाहे पनि भारतीय पक्षबाट रूटका लागि अनुमति नदिँदा उडान हुन सकेको छैन। पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा-बनारस-पोखरा, पोखरा-दिल्ली-पोखरा र पोखरा-देहरादून-पोखरामा उडान गर्ने योजना बनाए पनि अनुमति पाएको छैन।

यस्तै माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखराबाट जोमसोम, भरतपुर, नेपालगञ्ज लगायतका ठाउँमा नियमित उडान भएको छैन। अन्य ठाउँमा भने आन्तरिक उडान भइरहेको छ। यतीको जहाज दुर्घटनामा परेपछि उक्त कम्पनीको जहाज चढ्ने यात्रुको चाप ह्वात्तै घटेको छ।

प्राधिकरणले फेब्रुअरी २३ बाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरे पनि विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली जडान भएको थिएन। अन्तर्राष्ट्रिय उडान सुरु भएपछि स्वतः रात्रिकालीन उडान हुने प्राधिकरणले जनाएको थियो।

तर, विमानस्थलबाट क्यालिब्रेसन फ्लाइट गरेर उद्धाटन गरिए पनि प्राधिकरणबाट हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय विमान सेवा प्रदायकले उडान भर्ने अनुमति पाएका छैनन्। वैदेशिक रोजगारीमा रहेको नेपालीहरू भएका गल्फ मुलुकमा उडान भर्ने गरेका जजिरा, फ्लाइ दुबई, कतार एयरवेजले पनि अनुमति पाएका छैनन्।

गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन्। अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, बिज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायतले चासो देखाएको प्राधिकरणले जनाएको छ।

चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल बैंकको ऋणमध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्याजको ऋण ब्यहोर्ने सर्तमा निर्माण भएको हो।

झण्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार ‘४ डी’ मोडलमा निर्माण गरिएको छ।

यस विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज मात्र अवतरण हुनेछन्। विमानस्थलको धावनमार्गको लम्बाइ २५ सय मिटर र रनवेको चौडाइ ४५ मिटर रहेको छ।

विमानस्थल बनाउन सरकारले २०३२ सालमा तीन हजार १०६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर, त्यतिले नपुगेपछि ६२९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो।

फागुन १०, २०७९ बुधबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।