मधेसका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले गठन गर्यो परामर्श समिति

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ।
समितिको सदस्यहरूमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भई काम गर्नेछन्।
समितिले पार्टीको निर्देशनअनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने कार्य गर्नेछ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको छ।
फागुन १०, २०७९ बुधबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।