राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुन्छ : पर्यटनमन्त्री किराँती

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुन्छ : पर्यटनमन्त्री किराँती

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन्। राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भएको हुनाले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने उनको भनाइ थियो। 

आज सङ्खुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले एमाले, कांग्रेसलगायत सबै दलबाट स्वीकार हुने राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन माओवादी केन्द्रले अधिकतम प्रयास गरिरहेको बताए।

राष्ट्रपति बनाउन सहमतिको विकल्प नभएको उनको दावी। माओवादीले सबै दलले स्वीकार्ने व्यक्ति राष्ट्रपति बनाउन खोजिरहेको पनि मन्त्री किराँतीले बताए।

एमाले, माओवादीसहितको गठबन्धन सरकार अहिल नै फुट्ने अवस्था नभएको पनि मन्त्री किराँतीले बताए।

फरक प्रसङ्गमा मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको बताए। “प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ।  विदेशी संस्कृतिको फोटोकपीभन्दा नेपालीपन भए मात्र धेरै पर्यटन तान्न सकिनेछ”, मन्त्री किराँतीले भने।

पर्यटनमन्त्री किराँतीले तुम्लिङटार विमानस्थलको नवनिर्मित भवनको समेत निरीक्षण गरेका छन्। भवन निरीक्षण गर्दै मन्त्री किराँतीले यही चैत मसान्तसम्म भवन निर्माण सम्पन्न गरेर बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

मन्त्री किराँतीले तुम्लिङटार विमानस्थलको समस्याबारेमा समेत जानकारी लिएका छन्।

फागुन १०, २०७९ बुधबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।