प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौंमा घरजग्गा खरीद गर्न नपाउने कानूनी व्यवस्था गर्न माग

प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौंमा घरजग्गा खरीद गर्न नपाउने कानूनी व्यवस्था गर्न माग

काठमाडौं: नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौं उपत्यकामा घरजग्गा खरीद गर्न नपाउने गरी कानूनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। देशको सन्तुलित विकास र काठमाडौं उपत्यकामा आउने विपद् व्यवस्थापनका लागि पनि प्रधानमन्त्री, मन्त्री, सांसदसहित नेपाल सरकारका उच्च अधिकारीहरूले काठमाडौं उपत्यकामा घरजग्गा खरीद गर्न नपाउने कानूनी व्यवस्था गर्नुपर्ने उनको तर्क थियो।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले काठमाडौं उपत्यका विकास प्राधिकरणको कामै नभएको भन्दै खारेज गर्न पनि माग गरे। काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डोजर लगाएर जथाभावी भत्काउने गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसले ठूलो विपद् ल्याउनेतर्फ पनि सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराए।

सांसद सुवालले भने, ‘काठमाडौं उपत्यका विकास प्राधिकरण अभिलम्ब खारेज गर्न आवश्यक छ। ललितपुरको सुनाकोठी–ठेँचो र चापागाउँका पुरानो बस्ती भत्काएर सडक विस्तार गरिएकोमा जनताको विरोध छ। काठमाडौंमा घर भत्काएर सडक चौडा गरिँदैमा सडक जाम हट्ने छैन। पहिरोलगायत विपत्तिबाट सडक अवरोध भएमा काठमाडौं उपत्यकामा खाद्यन्न आपूर्ति अवरुद्ध हुने र यहाँका जनता भोकभोकै मनुपर्ने अवस्था छ।'

उनले २०७२ सालको जस्तो ठूलो भूकम्प काठमाडौंमा गएमा भाग्ने ठाउँ नभएर लाखौँ जनताको मृत्यु हुने अवस्था रहेको पनि बताए। उनले यही कारण प्रधानमन्त्री, मन्त्री, सांसद र सरकारका उच्च अधिकारीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा बजार विकास गरी स्थानीय जनतासँगै घर बनाएर बस्नुपर्ने, काठमाडौं उपत्यकामा घरजग्गा किन्न नपाउने र देशको सन्तुलित विकास गर्ने कानून बनाउन जरुरी रहेको बताए।

सांसद सुवालले भक्तपुरस्थित नगरकोट सडकखण्डको निर्माण कार्य सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए। आठ वर्षदेखि सो सडकखण्डको निर्माण कार्यले पूर्णता नआएकोमा उनको आक्रोश थियो।

-न्युज एजेन्सी नेपालको समाचार सम्पादन गरी प्रकाशित 

फागुन १०, २०७९ बुधबार १४:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।