राजतन्त्र फाल्ने आन्दोलन भएको १८ वर्ष पुग्यो, तर अझै देशमा शान्ति र समृद्धि आएन : कमल थापा

बुटवल : राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार र विकल्पको बहस गर्नुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार गर्नुपर्ने बताएका हुन्।
उनले राजतन्त्र फाल्नको लागि भएको आन्दोलनको १८ वर्ष पुग्दा समेत जनताले अमनचयन, शान्ति र समृद्धि नपाएको बताए।
उनले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भएपनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताउँदै देशमा फोहरी राजनीतिक खेल चलेको बताए।
उनले भने, ‘अहिलेको गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिंदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्म निरपेक्षताका एजेण्डा बोक्ने एकै ठाउँमा बसेका छन्। यो गठबन्धन झन् अपवित्र छ।’
यसले मुलुकलाई दुर्घटनातर्फ धकलेको उनको जिकिर छ।
पूर्व उपप्रधानमन्त्री थापाले अबको राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले नै दलहरूबीचमा खिचातानी बढेको समेत उल्लेख गरे।
फागुन १०, २०७९ बुधबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।