मायादेवी मन्दिरमा राखियो स्वयम्भू स्तूपा आकारको नयाँ गजुर

बुटवल : लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा नयाँ गजुर राखेको छ। गजुर जीर्ण भएपछि कोषले दाताहरुको सहयोगमा तयार पारिएको स्वयम्भू स्तूपा आकारको आधुनिक गजुर राखेको हो।
गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ।
मंगलबार दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्धभिक्षुबाट पूजा गरेपछि गजुर स्थापनालाई औपचारिकता दिइएको छ।
यसअघि राखिएको गजुर पुरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
स्वयम्भू स्तूपाको मोडेलमा रहेको गजुर करिब ३ महिना लगाएर तयार पारिएको शाक्यले बताए। गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ।
गजुरसँगै बुद्ध जन्मस्मारक ‘मार्कन स्टोन’को कभर स्थापनाका लागि समेत टोलीले सहयोग गरेको कोषले जनाएको छ।
आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिब ६० लाख लगानी लागेको शाक्यले बताए।
फागुन १०, २०७९ बुधबार १०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।