मेस्सीको लास्ट मिनेट फ्री-किक, एम्बाप्पेको अङ्कमाल अनि एन्टोनेलाको छचल्किएको खुशी

एजेन्सी: गए राति सम्पन्न 'फ्रेन्च लिग वान'अन्तर्गतको खेलमा पीएसजी विजयी भएको छ। लिलेविरुद्ध ४-३ गोलअन्तरले पीएसजी विजयी भएको हो।
पीएसजीको जितमा नेयमार जुनियर, किलियन एम्बाप्पे र लियोनल मेस्सीले गोल गरे।
खेलको ११औँ मिनेटमा एमबाप्पेले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। यस्तै १७औँ मिनेटमा नेयमारले पीएसजीलाई २-० को अग्रता दिलाए।
यसपछि लिलेका लागि २४औँ मिनेटमा बाफोडे डियाकिटेले गोल गरे। पुनः ५८औँ मिनेटमा लिलेकै जोनाथन डेभिडले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए। खेलमा लिले हावी भयो। ६९औँ मिनेटमा जोनाथन बाबाले गोल गर्दै ३-२ को स्थितिमा पुर्याए।
तर, यसपछि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै ८७औँ मिनेटमा पीएसजीलाई ३-३ को बराबरीमा ल्याए। खेल इन्जुरी समयमा धकेलियो।
९० मिनेट सकिएर थप गरिएको पाँचौँ मिनेटमा मेस्सीले उत्कृष्ट फ्री-किक प्रहार गरे। गोलमा परिणत गराए। र खेल अन्ततः पीएसजीले जित्यो।
मेस्सीले गोल गर्नासाथ उनलाई सबैभन्दा पहिला अङ्कमाल गर्ने खेलाडी थिए- एम्बाप्पे। विश्वकपमा एम्बाप्पेकै टोलीलाई हराएर मेस्सीले उपाधि जितेको र त्यसपछि मेस्सीको स्वागतमा उपस्थित नभएको जस्ता कारणले यी दुई खेलाडीको सम्बन्धमा दरार आएको आकलन हुँदै गर्दा एम्बाप्पेको 'जेस्चर'लाई महत्त्वका साथ हेरिएको छ।
यस्तै एउटा भिडियोमा मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको प्रतिक्रिया पनि देखाइएको छ। मेस्सीले फ्री-किक प्रहार गर्नुअघिसम्म 'नर्भस' देखिएकी एन्टोनेला गोल भएलगत्तै उफ्रिन्छिन्। केही खेलयता मेस्सीको प्रदर्शन त्यति राम्रो नभएको बेला फ्री-किक गोलले एन्टोनेलाको खुशी छचल्किएको प्रष्ट देखिन्छ।
फागुन ८, २०७९ सोमबार ११:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।