मेस्सी र एम्बाप्पेको अभाव देखियो पीएसजीमा, ३-१ गोलअन्तरले पराजित

मेस्सी र एम्बाप्पेको अभाव देखियो पीएसजीमा, ३-१ गोलअन्तरले पराजित

एजेन्सी: जारी फ्रेन्च लिग वान फुटबलमा पीएसजी पराजित भएको छ। गए राति सम्पन्न खेलमा मोनाकोसँग ३-१ गोलअन्तरले पीएसजी हारेको हो।

पीएसजी दुई स्टार खेलाडी लियोनल मेस्सी र किलियन एम्बाप्पेबिना नै मैदानमा उत्रिएको थियो। पीएसजीको यो लगातार दोस्रो हार पनि हो।

यसअघि पीएसजी मार्सेलसँग २-१ गोलअन्तरले पराजित भएको थियो। सोही खेलमा घाइते भएकाले मेस्सी गए राति सम्पन्न खेलमा उपस्थित थिएनन्।

यता विजयी टोली मोनाकोका लागि खेलको चौथो मिनेटमा एलेक्सान्ड्रा गोलोभिनले गोल गरे। १८औँ मिनेटमा विसम बेन एड्डरले गोल गर्दै मोनाकोलाई २ गोलको अग्रता दिलाए।

३९ औँ मिनेटमा वारेन इम्रीको गोलमा पीएसजी खेलमा फर्किन कोसिस गरे पनि पर्याप्त भएन। पहिलो हाफको इन्जुरी समयमा विसमले व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई ३-१ को स्थितिमा पुर्याए।

माघ २९, २०७९ आइतबार १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।