सन् २०२३ को एकदिवसीय विश्वकप जित्न चाहन्छन् बाबर

सन् २०२३ को एकदिवसीय विश्वकप जित्न चाहन्छन् बाबर

एजेन्सी: एकदिवसीय क्रिकेटको सर्वोत्कृष्ट ब्याट्सम्यान हुन् बाबर आजम। पाकिस्तानी कप्तान बाबर यसपालि समेत गरी लगातार दुई वर्ष 'आईसीसी मेन्स ओडीआई प्ल्यर अफ द यर' समेत भए।

पछिल्लो २४ महिनामा त उनले एकदिवसीय क्रिकेटमा कीर्तिमानमाथि कीर्तिमान बनाएका छन्। तर, उनको कीर्तिमानमा एउटै कुरा अपुग छ- विश्वकप।

सन् २०२१ को टी ट्वेन्टी विश्वकपमा सेमिफाइनल र सन् २०२२ को टी ट्वेन्टी विश्वकपमा फाइनलमा पुगेर उनको टोली पराजित भयो। अब बाबरको नजर सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपमा छ। उनी त्यो विश्वकपको उपाधि उचाल्न चाहन्छन्।

आईसीसी डिजिटल इन्साइडर जैनाब अब्बाससँग कुरा गर्दै उनले इमरान खानको सफलता दोहोर्याउने चाहना भएको र दोस्रो पटक देशलाई एकदिवसीय विश्वकपको उपाधि दिलाउने चाहना भएको बताएका छन्। 

" मेरो लक्ष्य भनेको विश्वकप खेल्ने टोलीको सदस्य भई उपाधि जित्नु हो", करियरको लक्ष्यबारे सोध्दा उनले यस्तो जवाफ दिए।

सन् २०२२ मा पाकिस्तानले केवल नौ एकदिवसीय खेल खेल्दा केवल एकमा हार व्यहोरेको थियो। यो वर्ष विश्वकपअघि पर्याप्त एकदिवसीय खेल खेल्दै आफूलाई तयार गर्ने उनले बताए। "तपाईं आफ्नो लक्ष्यमा सिधै पुग्न सक्नुहुन्न। एक-एक खुड्किला पार गर्दै पुग्ने हो", उनले भने।

माघ २८, २०७९ शनिबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।