क्लब विश्वकपको फाइनलमा पुग्यो रियल मड्रिड, उपाधिका लागि अल हिलालसँग भिड्ने

एजेन्सी: स्पेनिस क्लब रियल मड्रिड क्लब विश्वकपको फाइनलमा पुगेको छ। गए राति सम्पन्न सेमिफाइनल खेलमा इजिप्सियन क्लब अल अहिललाई ४-१ गोलअन्तरले पराजित गर्दै मड्रिड फाइनलमा पुगेको हो।
अब फाइनलमा उपाधिका लागि मड्रिडले साउदी अरेबियन क्लब अल हिलालसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल नेपाली समयअनुसार फेब्रुअरी १२ आइतबार राति १२:४५ मा हुनेछ।
प्रिन्स मौले अब्देल्लाह रङ्गशालामा भएको खेलमा मड्रिडका लागि खेलको ४२ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। यस्तै ४६ औँ मिनेटमा फेडेरिको भाल्भर्देले दोस्रो गोल गरेका थिए।
६५ औँ मिनेटमा अल अहिलका अली मालोउलले गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्याए।
तर, दोस्रो हाफको इन्जुरी समय (९०+२ मिनेट)मा मड्रिडका रोड्रिगोले गोल गर्दै स्थिति ३-१ मा पुर्याए। पुनः ९०+८ मिनेटमा मड्रिडका सेर्जियो अरिबासले गोल गर्दै ४-१ को नतिजा दिलाए।
योसँगै अब मड्रिड क्लब विश्वकपको आठौँ पटक उपाधि उचाल्ने दाउमा हुनेछ।
माघ २६, २०७९ बिहीबार ०८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।