सन्दीप फर्किए नेपाली टिमकाे प्रशिक्षणमा, सामाजिक सञ्जालमा भने #BoyCottCAN अभियान

सन्दीप फर्किए नेपाली टिमकाे प्रशिक्षणमा, सामाजिक सञ्जालमा भने #BoyCottCAN अभियान

काठमाडौं: नाबालिग बलात्कारकाे आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली टिममा समावेश गरेपछि हाल नेपाल क्रिकेट सङ्घ (क्यान)काे चौतर्फी आलाेचना भइरहेकाे छ।

यता क्यानकाे निलम्बन फुकुवासँगै टिममा बोलाइएका सन्दीपले भने आजैदेखि नेपाली टिमसँग प्रशिक्षण थालिसकेका छन्।

विशेषगरी सामाजिक सञ्जालमा क्यानकाे विरोधमा #BoyCottCAN अभियान चलाइएकाे छ भने अभियानकर्ताहरुले भाेलि शनिबार माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छन्।

#BoyCottCAN अभियानलाई समर्थन गर्दै ट्वीटरमा तुल्सीराम भुषालले लेखेका छन्, ‘क्रिकेटका मूलीहरु त नाङ्गै हिंडे, सरकार कता छ?’

त्यसैगरी सोमेश बर्मा नेपाली टिमका अन्य खेलाडीलाई नै प्रश्न गर्दै लेख्छन्, ‘नेपाली क्रिकेट टिममा परेका १९ जना खेलाडीलाई प्रश्न? तपाईंहरुलाई अन्य देशसँग खेल्दा हामीले किन समर्थन गर्ने? कि त तपाईंहरु बलात्कार आरोपको पक्षमा हुनुपर्छ कि विरोधमा, बीचको बाटोको सुविधा छैन यो मुद्दामा।’ 

बलात्कारकाे आरोपमा कारागार चलान भएका सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्न उच्च अदालत, पाटनले आदेश दिएको थियो। त्यसपछि उनी २० लाख धरौटीमा थुनामुक्त भएका थिए।

यसपछि सन्दीपलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले लगाएको निलम्बन फुकुवा गरेकाे थियाे। यससँगै अर्काे महिना नेपालमा नै हुने क्रिकेट सिरिजका लागि भनेर क्यानकाे खेलाडी छनोट समितिले उनलाई बन्द प्रशिक्षणका लागि टिममा छनोट गरेको हाे।

माघ २०, २०७९ शुक्रबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।