पलविरुद्धको मुद्दामा बाल यौन दुरुपयोगको फैसला उल्टाउन सरकारी पक्षको निवेदन, बलात्कारको मागदाबी अनुसारको सजायको माग

पलविरुद्धको मुद्दामा बाल यौन दुरुपयोगको फैसला उल्टाउन सरकारी पक्षको निवेदन, बलात्कारको मागदाबी अनुसारको सजायको माग

काठमाडौँ : अभिनेता पल शाहलाई बलात्कार अभियोगमा सफाइ दिने तर बाल यौन दुरुपयोगमा दोषी ठहर गर्ने नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्ष पुनरावेदनमा गएको छ।

अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दिएको हो। पुनरावेदनमा जबरजस्ती करणीको मुद्दामा अभियोग मागदाबीअनुसार सजाय हुनुपर्ने माग गरिएको छ।

जिल्ला अदालत नवलपुरले शाहलाई भदौ २१ गते नाबालिग बलात्कारको मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा भने दोषी ठहर गरेको थियो। उनलाई सो अभियोगमा साढे २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख क्षतिपूर्तिको फैसला भएको थियो।

सो फैसलाविरुद्ध शाहको पक्षबाट समेत उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भइसकेको छ। गीतको म्युजिक भिडियो सुटिङका क्रममा गैँडाकोट रिसोर्टमा बसेको बेलामा शाहले बलात्कार गरेको अभियोगको आधारमा उनी पुर्पक्षका लागि थुनामा थिए। अहिले बाल यौन दुरुपयोगको अभियोगमा तोकिएको सजाय अनुसार उनी कारागारमा छन्।

उता जिल्ला अदालत तनहुँले भने उनलाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिएको थियो। माघ ३ मा उनले सफाइ पाएका हुन्।

माघ १५, २०७९ आइतबार २२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।