भारत र न्युजिल्याण्डबीचको दोस्रो एकदिवसीय आज

भारत र न्युजिल्याण्डबीचको दोस्रो एकदिवसीय आज

काठमाडौं: भारत र न्युजिल्याण्डबीच जारी एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ। खेल नेपाली समयअनुसार आज दिउँसो १:४५ बाट सुरु हुनेछ।

तीन खेलको शृङ्खलामा भारत १-० ले अघि छ। अघिल्लो खेल भारतले १२ रनले जितेको थियो। भारतीय ब्याट्सम्यान शुभमन गिलले १४९ बलमा २०८ रनको शानदार पारी खेलेपछि भारतले खेल आफ्नो पोल्टा पारेको हो।

भारत आज पनि जित हासिल गर्दै शृङ्खला कब्जा गर्ने दाउमा हुनेछ। न्युजिल्याण्ड भने आज जितेर शृङ्खला बराबरी गर्ने दाउमा हुनेछ।

आजको खेलमा भारतका विस्फोटक ब्याट्सम्यान विराट कोहलीले अर्को कीर्तिमान बनाउन सक्छन्। यदि उनले १११ रन बनाएको खण्डमा विराट २५ हजार रन बनाउने छैटौँ खेलाडी बन्न सक्छन्। यो कीर्तिमान हालसम्म सचिन तेन्दुलकर, कुमार सङ्गकारा, रिकी पोन्टिङ, महेला जयवर्धने र ज्याक कालिसको नाममा छ।

माघ ७, २०७९ शनिबार ११:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।