फुटबल इतिहासकै सबैभन्दा धेरै तलब पाउने भएपछि साउदीको क्लबमा अनुबन्ध भए रोनाल्डो

फुटबल इतिहासकै सबैभन्दा धेरै तलब पाउने भएपछि साउदीको क्लबमा अनुबन्ध भए रोनाल्डो

एजेन्सी: विश्व फुटबलका चर्चित स्टार क्रिष्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भएका छन्। यस संस्करणको विश्वकपमा खासै उल्लेखनीय प्रदर्शन गर्न नसके पनि रोनाल्डो हाल फुटबल इतिहासकै सबैभन्दा धेरै तलब पाउने खेलाडी बनेका छन्।

३७ वर्षीय रोनाल्डोले अब वार्षिक १७७ मिलियन पाउण्डभन्दा बढी तलब लिनेछन्। हालको विनिमय दरअनुसार यो भनेको २८ अर्ब नेपाली रुपैयाँ हो। यस्तै रोनाल्डो अब सन् २०२५ सम्म अल नासरमा हुनेछन्। एक अन्तर्वार्तामा म्यानचेष्टर यूनाइटेडको आलोचना गरेपछि रोनाल्डो र क्लबबीचको सम्बन्धमा दरार आएको थियो। त्यसपछि उनी फ्री एजेन्टका रूपमा थिए।

अल नासरसँग आबद्ध भएपछि रोनाल्डोले आफू 'फरक मुलुकको नयाँ फुटबल लिग अनुभव गर्न आतुर रहेको' प्रतिक्रिया दिएका थिए। उनले भने, 'म आफूलाई निकै भाग्यमानी ठान्छु किनकि मैले युरोपियन फुटबलमा जित्नुपर्ने सबै उपाधि जितेको छु। र अब मलाई लाग्छ यो उपयुक्त समय हो मेरो अनुभव एसियामा बाँड्ने।'

अल नासर साउदी प्रो लिगको शीर्ष स्थानको क्लब हो। यसले नौ पटक लिग जितेको छ। रोनाल्डोलाई अनुबन्ध गरेपछि अल नासरले भनेको छ- 'इतिहास बन्दैछ'। 'यसले हाम्रो लिग, राष्ट्र र आगामी पुस्तालाई प्रेरणा दिनेछ। हाम्रा आगामी पुस्ताका केटाकेटीहरू उत्कृष्ट बनेर निस्कनेछन्।'

केही समयअगाडि रोनाल्डोले साउदीकै अर्को टोली अल हिलाललाई आफू म्यानचेष्टर यूनाइटेडमै खुशी भएको भन्दै अस्वीकार गरेका थिए। अल हिलालले रोनाल्डोलाई ३०५ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो।

पुष १६, २०७९ शनिबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।