भारतसँगको टेष्ट सिरिज हारेपछि बंगलादेशका मुख्य प्रशिक्षकद्वारा राजीनामा

काठमाडौं : भारतसँगको दुई खेलको टेष्ट सिरिजमा पराजय भोगेपछि बंगलादेशका मुख्य प्रशिक्षक रसेल डोमिङ्गोले राजीनामा दिएका छन्।
उनले गत मंगलबार आफ्नो निर्णयको बारेमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)लाई जानकारी गराएका थिए। त्यसको दुई दिनअघि मात्रै भारत र बंगलादेशबीचको टेष्ट सिरिजमा बंगलादेश २–० ले पराजित भएको थियो।
समाचार एजेन्सी पीटीआईका अनुसार, बीसीबीको क्रिकेट अपरेशन्स अध्यक्ष जलाल युनुसले बुधबार एक खेलकुद वेबसाइटलाई भने, ‘उनले तत्काल प्रभावबाट राजीनामा दिएका छन्।’
उनले मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई राजीनामा बुझाएका हुन्। डोमिङको कार्यकालमा बंगलादेशले अष्ट्रेलियाविरुद्धको टी ट्वान्टी सिरिज र दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज जितेको थियो।
रसेल डोमिङ्गो सेप्टेम्बर सन् २०१९मा बंगलादेशका मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। भारत र बंगलादेशको सिरिजपछि क्रिसमसको छुट्टीमा दक्षिण अफ्रिका गएका डोमिङ्गोको त्यसयता राजीनामाको चर्चा चलिरहेको थियो।
पुष १४, २०७९ बिहीबार १०:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।