लिग वानमा नेइमारलाई रातोकार्ड, इन्जुरी समयमा एम्बाप्पेकाे गाेल

लिग वानमा नेइमारलाई रातोकार्ड, इन्जुरी समयमा एम्बाप्पेकाे गाेल

एजेन्सी : नेइमारले रातो कार्ड खाएपछि १० खेलाडीमा समेटिएको पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वान स्टारवर्गमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ।

पीएसजीको जितमा केलिएन एम्बाप्पेले निर्णायक गोल गरे।घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीले ७१ प्रतिशत बल पोसेसन राखे पनि जित निकाल्न निकै संघर्ष गर्नु पर्यो। 

१४औं मिनेटमा मार्किन्हसले नेइमारको फ्रि–किकलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। तर ५१औँ मिनेटमा मार्किन्हसले आत्मघाती गोल गरेपछि स्टार्सवर्गले खेललाई १–१ गोलको बराबरीमा ल्यायो।

त्यसपछि दुई मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खाँदै नेइमार मैदानबाट बाहिरिँदा पीएसजी दबाबमा परेको थियो।

६१औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका नेयमारले त्यसको एक मिनेटपछि नै पेनाल्टी बक्समा अनावश्यक डाइभ गरेको भन्दै रेफ्री क्लेमेन्ट टुर्पिनले अर्को पहेँलो कार्डसहित उनलाई रातो कार्ड दिएर मैदानबाट बाहिर पठाए।

त्यसपछि पनि पीएसजीले पाहुना टोलीमाथि लगातार दबाब सिर्जना गरिरह्यो। बराबरी उन्मुख बनेको खेलमा इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २–१ को रोमाञ्चक जित दिलाए।

पेनाल्टी बक्समा न्याम्सीले फउल गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टीको मौका दिएका थिए।

जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १६ खेलबाट ४४ अंक पुगेको छ। एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको लेन्सको ३६ अंक छ। पराजित स्टार्सवर्ग ११ अंक जोडेर १९औं स्थानमा छ।

पुष १४, २०७९ बिहीबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।