५० लाख फिरौतीको लागि १४ वर्षीय किशोरको अपहरण, आँखाको पट्टी खोलेर भाग्न खोज्दा हत्या

५० लाख फिरौतीको लागि १४ वर्षीय किशोरको अपहरण, आँखाको पट्टी खोलेर भाग्न खोज्दा हत्या

काठमाडौँ : अपहरणमा परेका १४ वर्षीय बालक नीरजकुमारले आँखाको पट्टी खोलेर भाग्न खोजेपछि परिचय खुल्ने डरले अपहरणकारीहरूले हत्या गरेको खुलेको छ।

उनको अपहरण र हत्या आरोपमा प्रहरीले श्यामकुमार यादव र दिलीपकुमार पटेललाई बुधवार पक्राउ गरेपछि उनीहरूले प्रहरी बयानमा अपहरित बालकको आँखामा पट्टी बाँधेर राखेकोमा उनले पट्टी खोलेर भाग्ने प्रयास गरेपछि परिचय खुल्ने र पक्राउ पर्ने डरले हत्या गरेर सेप्टी ट्याङ्कीमा हालिदिएको बयान दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपककुमार गिरीका अनुसार यी दुवैले बालकको अपहरण गरेर परिवारलाई धम्क्याएर ५० लाख फिरौती माग गरेका थिए। परिवारका सदस्यले फिरौती माग्ने फोन आए पनि निकै ढिला प्रहरीमा खबर गरेका थिए।

प्रहरीले अपहरित राखेको स्थान पहिचान गरेर अपहरणमुक्त गर्नु अगाडि नै एक विद्यालयको सेप्टी ट्याङ्कीमा एक किशोरको शव फेला पर्यो। त्यो शव उनै पासवानको थियो।

प्रहरीका अनुसार श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ८ मा  पढ्ने किशोरको  मङ्सिर ५ गते अपहरण भएको थियो। दिउस २ बजेको समयमा सिर्सिया खल्वा टोलबाटै उनी अपहरणमा परेको डिएसपी गिरीले जानकारी दिए।

उनको परिवारले प्रहरीमा ६ गते हराएको सूचना दिँदै खोजतलासका लागी निवेदन दिएका थिए। पछि उनको परिवारलाई अपरिचित नम्बरबाट कल गरेर ५० लाख फिरौती रकम माग गरेका थिए। फिरौतीका लागि फोन आएको विषयमा परिवारका सदस्यले फोन आएको १२ दिनपछि मात्रै प्रहरीमा जानकारी गराएका थिए।

प्रहरीले खोजतलास गरिरहेकै समयमा सिर्सिया खल्वाटोलमा रहेको श्री गुरुकुल पन्ना मेमोरियल ई.बोर्डिङ स्कुलको पुरानो भवन अगाडि रहेको सेप्टी टङ्की भित्र एक किशोरीको शव रहेको जानकारी आएपछि प्रहरी पुग्यो । पुस ९ गते सेफ्टीट्याङकीमा फेला परेको शव अपहरणमा परेका किशोरको रहेको पुष्टि भयो।

अनुसन्धानकैक्रममा प्रहरीले पर्साको वीरगन्जमा अपहरणमा संलग्न देखिएकामध्ये २ जना पक्राउ परेको र एक जना फरार रहेको डिएसपी गिरीले बताए। प्रहरीले पक्राउ आरोपीहरूको साथबाट फिरौती माग्न प्रयोग भएको सिम कार्ड सहितको मोबाइल, मृतकको निलो रङ्गको जिन्स पाइन्ट र खैरो रङ्गको पेटी फेला परेको छ।

बालकको अभिभावक वीरगन्जको मीना बजारमा मासु पसल सञ्चालन गर्दै आएका छन्।

पुष १३, २०७९ बुधबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।