कर्णालीमा माओवादीबाट शर्मा र एमालेबाट कँडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन

कर्णालीमा माओवादीबाट शर्मा र एमालेबाट कँडेल सर्वसम्मत रुपमा दलको नेतामा चयन

सुर्खेत। नेकपा माओवादी र नेकपा एमालेले कर्णाली प्रदेश संसदीय दलको नेता सर्वसम्मत चयन गरेका छन्। माओवादीले दलको नेतामा रुकुमपश्चिमका राजकुमार शर्मा (आर्ट) लाई सर्वसम्मत चयन गरेको हाे।

मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको हो। दल नेताका लागि चार जनाको दाबी रहेको थियो। दाबी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए।

अन्तिममा तीनैजना ब्याक हुँदा शर्मा सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन्। शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। माओवादीले प्रदेशसभामा १३ सिट ल्याएको छ। शर्मा माओवादीबाट मुख्यमन्त्रीका दाबेदार हुन्।

यस्तै एमालेले संसदीय दलको नेतामा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेललाई सर्वसम्मत चयन गरेको छ। दल नेतामा दाबी गरिरहेका एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह पछि हटेपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन्।

कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लडेका थिए। २०७४ मा २० सिटसहित पहिलो दल हुँदा पनि एमालेले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सकेको थिएन।

४० सदस्यीय प्रदेशसभामा यो पटक एमाले १० सिटसहित तेस्रो दलको हैसियतमा छ। कांग्रेसको १४, राप्रपा, समाजवादी र स्वतन्त्रका भने एक-एक जना सांसद छन्।

पुष १३, २०७९ बुधबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।