बुद्ध एयरले पाेखराकाे सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने

बुद्ध एयरले पाेखराकाे सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने

काठमाडाैं। बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ।

भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ। बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ।

उक्त विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएकाले अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने छ। यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्याउन र्याम्प बस राखिएको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा बुध्द एयरका लागि जाँच काउण्टर नं ३, ४ र ५ तोकिएको छ। 

नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रुले टिकटमा उल्लेख गरिएको समयभन्दा दुई घण्टा अगाडि विमानस्थल पुगेर जाँच गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ।

बुद्धले पोखरा विमानस्थलबाट काठमाडौं जस्तै देशका हरेक गन्तव्यलाई क्रमश: जोड्दै लैजाने जनाएको छ। नागरिक प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालिन उडान पनि गरिने छ ।

पुष १३, २०७९ बुधबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।