‘रवि लामिछानेलाई गृहमन्त्री बनाउने निर्णय अबिलम्व परिवर्तन गर्नुपर्छ’

काठमाडौं : नेपाल विवेकशील पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद् रवि लामिछानेलाई गृहमन्त्रीमा नियुक्त भएसँगै स्वार्थको द्वन्द्व बढाएको बताएको छ।
मंगलबार विज्ञप्ति निकालेर पार्टीले नेपाल प्रहरीले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिँदा तोकिएका कानुनी प्रावधानहरू पूरा नगरेको र अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको विषयमा छानबिन भइरहेको व्यक्ति गृहमन्त्री हुँदा स्वार्थको द्वन्द्व हुने भन्दै आपत्ति जनाएको हो।
स्वार्थको द्वन्द्व देखिने यस्ता कदमले राजनीतिक नैतिकता नदेखिएकाे पार्टीकाे निष्कर्ष छ।
‘यस्तो परिस्थितिमा निज लामिछानेले यस विषयको किनार नलागेसम्म आफैँले पनि कुनै पनि मन्त्रालय नलिई नैतिकता देखाउनुपर्ने वा पार्टीले सोही अनुसारको निर्णय गर्नसक्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसो गर्दा राजनीतिक नैतिकता अनुरूप हुन्थ्यो र नयाँ राजनीति खोजेर उक्त पार्टीलाई मत हालेका नागरिकहरूप्रति न्याय हुन्थ्यो।’
लामिछाने गृहमन्त्री हुँदा यसले देशको कानून परिपालना गराउने काममा नयाँ शक्तिको दुहाइ दिँदै आएका राजनीतिक पात्रहरूले पनि पुरानै चरित्र अपनाएको देखिने भन्दै पार्टीले मन्त्री पदमा नियुक्तिको निर्णय अबिलम्ब परिवर्तन गर्न गृहमन्त्री लामिछाने, निजको दल राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ।
पुष १२, २०७९ मंगलबार १९:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।