प्रचण्डले माधव नेपाललाई फूलमाला लगाएर सत्ता गठबन्धनमा लैजानुपर्छ : वामदेव गौतम

प्रचण्डले माधव नेपाललाई फूलमाला लगाएर सत्ता गठबन्धनमा लैजानुपर्छ : वामदेव गौतम

काठमाडौं : कम्युनिष्ट नेता वामदेव गौतमले माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फूलमाला लगाएर सत्ता गठबन्धनमा लैजानुपर्ने बताएका छन्।

मंगलबार नेपालसँगको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै गौतमले संविधानलाई ट्र्याकमा ल्याउनका लागि प्रचण्डको मुख्य साथ माधवकुमार नेपालले दिएको भन्दै प्रचण्डले फूलमाला लगाएर सत्ता गठबन्धनमा लैजानुपर्ने बताए।

‘माधव नेपाल सत्ता गठबन्धनमा छुट्नुहुँदैन,’ उनले भने, ‘प्रचण्डले उहाँ (माधवकुमार नेपाल)लाई बोलाएर फूलमाला लगाएर गठबन्धनमा लैजानुपर्छ।’

गौतमले एकीकृत समाजवादी सरकारमा सामेल नभए ऐतिहासिक भुल हुनेसमेत बताए। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले माधवकुमार नेपाललाई सम्मानजनक व्यवहार नगरेको भन्दै उनले मन्त्रीमण्डलमा एकीकृत समाजवादीलाई समावेश गर्नुपर्नेमा जोड दिए।

उनले थपे, ‘संविधानलाई डिरेल हुनबाट बचाउन प्रचण्ड मुख्य रूपमा देखिए पनि त्यसको आधा मुटु, आधा ब्रेन र आधा शक्ति माधवकुमार नेपाल हुन्।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि जानका लागि जस्तोसुुकै त्याग गर्ने भावनाका साथ हात मिलाएर आफूहरू बिदा भएको गौतमले बताए।

पुष १२, २०७९ मंगलबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।