सन्दीप लामिछानेविरुद्धको मुद्दामा ‘प्रमाण’ बुझ्न अदालतको आदेश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा ‘प्रमाण’ बुझ्न अदालतको आदेश

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूवैकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले प्रमाण बुझ्न आदेश दिएको छ।

हिमलाल बेल्बासेको एकल इजलासले लामिछानेविरुद्धको मुद्दामा आरोप लगाउने किशोरीको उमेर विवादबारे प्रमाण बुझ्न आदेश दिएको अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले उकेरालाई जानकारी दिए।

लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। असोज २० गते नेपाल आएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।

प्रहरीले उनीविरुद्ध कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकोमा अदालतले कात्तिक १९ गते कारागार चलान गर्ने आदेश दिएको हो। उनी अहिले केन्द्रीय कागारा सुन्धारामा छन्।

पुष १२, २०७९ मंगलबार १८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।