प्रधानमन्त्री र अर्थमन्त्रीको प्रतिक्रियाले 'सेयरको साँढे' उत्साहित, पाँच महिना यताकै उच्च कारोबार

प्रधानमन्त्री र अर्थमन्त्रीको प्रतिक्रियाले 'सेयरको साँढे' उत्साहित, पाँच महिना यताकै उच्च कारोबार

काठमाडौँ : पाँच दलीय गठबन्धन तोडिएर सात दलीय गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै सुस्ताएको सेयर बजारको कारोबार उकालो लाग्न थालेको छ। सोमबार प्रचण्डसहित अर्थमन्त्रीमा सेयर बजार मैत्री छवि बनाएका विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको शपथ खाएका थिए।

सोमबार अर्थमन्त्रीको पदभार लिएसँगै अर्थमन्त्री पौडेलले आन्दोलनरत पूर्वका व्यवसायीलाई फोन गरेर वार्तामा बोलाएका थिए। मङ्गलवार बिहान उद्ध्योगीहरुले  प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पौडेललाई भेटेका थिए।

भेटमा दुवैले व्यवसायीहरूले उठाइरहेको चालु पुँजी कर्जा मार्गनिर्देशनबारे सकारात्मक धारणा राखे। त्यसको प्रभाव सेयर बजारमा देखियो।

बजारमा सकारात्मक सन्देश आउँदा सोमबार ५६ अङ्कले बढेको बजार मङ्गलवार ५९ अङ्कले बढेर सूचक १९८३ अङ्कमा पुग्यो।

मङ्गलवार नेप्से ५९ अङ्कले बढेन मात्र चार महिनायताकै सबैभन्दा धेरै रकम कारोबार समेत भयो। मङ्गलवार नेप्से सूचक ५९.८७ अङ्कले बढेर १९८३.९५ अङ्कमा बन्द भएको थियो भने लगानीकर्ताले २ सय ६१ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार गरे।

मङ्गलवार भएको कारोबार रकम भदौ महिना यताकै सबैभन्दा ठुलो कारोबार हो। भदौ १८ मा ४ अर्बको कारोबार भएको बजार त्यसयता निरन्तर ओरालो लागेको थियो।

मङ्गलवारको कारोबारमा सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्स्योरेन्स र सिर्जशील लघुवित्त लगायतका २ सय २ कम्पनीको शेयर मूल्य बढेको थियो।

तेह्रथुम पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क र हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो।

कारोबार रकमका आधारमा लक्ष्मी बैङ्क शीर्ष स्थानमा रह्यो। लक्ष्मीको २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।

नेपाल टेलिकमको १४ करोडभन्दा बढीको शेयर कारोबारहुँदा हिमालयन डिस्टिलरी, नबिल बैङ्क र एनआईसी एसिया बैङ्कको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

लगानी उपसमूहको परिसूचक सर्वाधिक ६.४३ प्रतिशत बढ्दा वित्त, होटेल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेर बजार बन्द भएको थियो।

आठ वटा कम्पनीको शेयर मूल्य घट्यो जसमा सात व६ त लघुवित्त छन्।

पुष १२, २०७९ मंगलबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।