२ लाख २८ हजार घुस लिएको आरोपमा खाँडाचक्र नगरपालिकाका सुब्बामाथि मुद्दा

काठमाडौं : दुई लाख २८ हजार घुस लिएको आरोपमा कालिकोटको खाँडाचक्र नगरपालिकाका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा नगरपालिकाका नायव सुब्बा दिपकराज देवकोटाले एक दिनको तालिम सञ्चालन गरी १६ दिन सञ्चालन गरेको देखाएर झुटो बिल भर्पाइ बनाइ १ लाख ९७ हजार ८९५ रूपैयाँ भुक्तानी दिए लिएको पुष्टि भएको हो।
यस्तै उनै देवकोटाले पोल्ट्री बंगुर फार्मलाई १ लाख ८० हजार १८० रूपैयाँको कुखुराको चल्लाको भुक्तानी दिनुपर्नेमा उक्त रकमबाट ३० हजार १८० रूपैयाँ घुस लिएको देखिएको समेत आयोगको अनुसन्धानमा देखिएकाले उनीउपर जम्माजम्मी २ लाख २८ हजार विगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
पुष १२, २०७९ मंगलबार १७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।