फ्रान्स समर्थकले फाइनल खेल पुनः हुनुपर्ने भन्दै माग गरेपछि अर्जेन्टिनी समर्थकको काउण्टर पेटिशन- 'रुन बन्द गर'

एजेन्सी: अर्जेन्टिनाले विश्वकप २०२२ को उपाधि जितेको एक साता भएको छ। यो बीच खुशीयाली मनाउने स्वरसँगै विरोधका केही स्वर पनि सुनियो।
फाइनलमा पेनाल्टी शुटआउटमा हारेपछि फ्रान्स र यसका समर्थक खुशी छैनन्। उनीहरूले फाइनल खेल पुनः हुनुपर्ने माग गरेका छन्। माग राख्दै पेटिशनमा हस्ताक्षर गराउने अभियान नै थाले।
करिब दुई लाखभन्दा बढी व्यक्तिले फाइनल पुनः हुनुपर्ने माग राख्दै पेटिशन थालेपछि त्यसको काउण्टरमा अर्जेन्टिनी समर्थकले अर्को पेटिशनमा हस्ताक्षर गर्न थाले- 'रुन बन्द गर' भन्दै।
भ्यालेन्टिन गोमेज नामका एक अर्जेन्टिनीले सुरु गरेको पेटिशनमा केही घण्टामै तीन लाख हस्ताक्षर सङ्कलन भएको थियो।
विश्वकप सकिएको एक साता भइसक्दा पनि सामाजिक सञ्जालमा यतिबेला अर्जेन्टिनी समर्थक र फ्रान्स समर्थकबीच झगडा भने सकिएको छैन। अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले फ्रान्सका किलियन एम्बाप्पेलाई गिज्याउँदै उत्सव मनाएको दृश्य बाहिरिएयता यो झगडाले अर्को उँचाइ लिएको थियो।
यता अर्जेन्टिनी समर्थकले भने फ्रान्सले नभई क्रिष्टियानो रोनाल्डोका समर्थकले यो अभियान चलाएको आरोप लगाएका छन्। अर्जेन्टिना र लियोनल मेस्सीले विश्वकप जितेसँगै गोट डिबेट (GOAT Debate) अर्थात् को सर्वकालीन महान् खेलाडी भन्ने बहस सकिएको र त्यसैको ईर्ष्या गर्दै रोनाल्डो फ्यानले अर्जेन्टिनाको विजय देखिनसकेको उनीहरूको आरोप छ।
केही दिनअघि फाइनल खेलका मुख्य रेफ्री साइमोन मार्सिनियाकले विवाद गर्नुको कुनै तुक नरहेको बताएका थिए। 'फ्रेन्चहरूले मेस्सीको गोलबारे गुनासो गरेका छन्। तर उनीहरू एम्बाप्पेको गोलको कुरै गर्दैनन्। त्यतिबेला सात जना बेञ्चमा भएका फ्रेन्स खेलाडी फिल्डमा आएका थिए', मार्सिनियाकले बताएका थिए।
पुष १०, २०७९ आइतबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।