साम करन कसरी भए आईपीएलमा सर्वाधिक महँगा ? यी हुन् चार कारण

एजेन्सी: शुक्रबार भएको आईपीएल २०२३ को मिनी अक्सनमा १० टोलीले १६७ करोड भारु खर्चेर ८० खेलाडी किने। कुशल खेलाडीहरू स्वाभाविकरूपमा महँगा सावित भए।
तर सबैलाई चकित बनाउने गरी अघिल्लो साल चेन्नाई सुपर किङ्ग्सबाट खेलेका खेलाडी साम करन सर्वाधिक महँगो निस्किए। पञ्जाब किङ्ग्सले इङ्ग्ल्याण्डका करनलाई १८.५० करोड भारु खर्चेर किन्यो।
यस्तै १५ करोडमाथि क्यामरून ग्रीन, बेन स्टोक्स, निकोलस पूरन लगायत खेलाडी रहे। मुम्बई इण्डियन्सले ग्रीनलाई साढे १७ करोड भारुमा किन्यो, चेन्नाईले स्टोक्सलाई १६ करोड २५ लाख भारुमा किन्यो र लखनऊ सुपर जायन्ट्सले पूरनलाई १६ करोड भारुमा किन्यो।
तर कसैले नसोचेका साम करन किन महँगो भए? उनको लागि साढे १८ करोड भारु खर्चिन किन तयार भयो पञ्जाब किङ्ग्स?
यसका चार कारण छन्। पहिलो हो- करन 'थ्री डायमेनसनल प्लेयर' हुन्। अर्थात् उनी ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा उम्दा छन्।
दोस्रो- उनी 'डेथ ओभर स्पेसलिस्ट' हुन्। खेलको १७ देखि २० ओभरमा उनले आफ्नो बलिङबाट खेललाई पल्टाउन सक्छन्। र आईपीएल लगायत कुनै पनि टी ट्वेन्टी फर्म्याटमा सर्वाधिक महत्त्वपूर्ण भनेकै १७ देखि २० ओभरका खेल हुन्।
तेस्रो कारण उनी 'लोअर अर्डर' ब्याट्सम्यान हुन्। अर्थात्- आवश्यक परेको खण्डमा उनले तल्लो क्रममा आएर पनि इनिङ्स सम्हाल्ने र रन बटुल्ने ब्याटिङ गर्न सक्छन्।
र चौथो कारण, उनले केही महिनाअघि सम्पन्न टी ट्वेन्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले 'प्लेयर अफ द टुर्नामेन्ट'को उपाधि पनि पाएका थिए।
साम करनले तीन वर्षअघि मात्र आईपीएलमा डेब्यू गरेका थिए। सन् २०१९ मा उनलाई पञ्जाब किङ्ग्सले नै ७.२ करोड भारुमा किनेको थियो। तीन वर्षमा उनले आफ्नो भाउ दोब्बरभन्दा बढीले बढाउन सफल भएका छन्।
पुष ९, २०७९ शनिबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।