३० युनिटसम्म खपत गर्नेको स्थानीयको विद्युत् महसुल वीरगञ्ज महानगरले तिरिदिने

३० युनिटसम्म खपत गर्नेको स्थानीयको विद्युत् महसुल वीरगञ्ज महानगरले तिरिदिने

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिने भएको छ।

बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै पुसदेखिको नगरवासीको ३० युनिटसम्मको विद्युत् महसुल निःशुल्क हुने भएको हो।

अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ।

बिहीबार महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमाक नगरप्रमुख राजेशमान सिंहले आफूहरूले निर्वाचनका बेला जनताकाबीच गरिएको प्रतिबद्धताबमोजिम विद्युत् महसुल निःशुल्क गर्ने सम्झौता गरेको बताए।

महानगरको मेयरमा सपथ लिएसँगै सिंहले पहिलो बैठकबाटै विद्युत् महशुल निःशुल्क गर्ने निर्णय गरेका थिए। मेयरको निर्णयलाई नगरपरिषद्ले पारित गरेको थियो।

८ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पिएरको एमसिबी प्रयोग गरी अधिकतम् ३० युनिट खपत गर्ने ग्राहकको विद्युत महशुल र न्यूनतम् मासिक महशुल महानगरले व्यहोर्ने उल्लेख छ। 

यस्तै महानगरभित्र सञ्चालित सिंगल फेज कृषि मिटरको सम्पूर्ण ग्राहकको मासिक विद्युत् महसुल पनि महानगरले नै व्यहोर्ने छ। महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यही अनुरुप प्राधिकरणले हरेक महिना रिबेटसहितको ग्राहकको शुल्क फर्स्यौट गर्नेछ।

सम्झौता बमोजिमको सुविधा प्राप्त गर्न ग्राहकले सम्झौता लागू हुनुपूर्वको आफ्नो बक्यौता भने चुक्ता गर्नुपर्नेछ। नगरवासीको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् महसुल र इनर्जी शुल्क निशुल्क गर्ने वीरगञ्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका बनेको छ।

सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झा र सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले हस्ताक्षर गरेका छन्।

पुष ७, २०७९ बिहीबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।